अमेरिकाले फेरि ४० नेपाली लखेट्योः आज काठमाडौं आइपुग्दै
काठमाडौँ — अमेरिकाले फेरि एकपटक ठूलो संख्यामा नेपालीहरूलाई देश निकाला (डिपोर्ट) गरेको छ। अमेरिकी चार्टर्ड विमानमार्फत डिपोर्ट गरिएका ती नेपालीहरू आज आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्।
अध्यागमन विभागका प्रवक्ता तथा वरिष्ठ अधिकृत अञ्जन न्यौपानेले जानकारी दिएअनुसार, डिपोर्ट गरिएका नेपालीहरू बोकेको विमान आज अपराह्न सवा चार बजे काठमाडौं आइपुग्ने निश्चित भएको छ। प्रारम्भिक योजना अनुसार ४८ जना नेपालीलाई डिपोर्ट गरिने तयारी गरिएको थियो, तर अन्तिम समयमा केही नेपाली रोकिएकाले संख्या घटेर करिब ४० जना हुन सक्ने अनुमान गरिएको छ।
अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरूलाई लिएर आएको विमान विभिन्न देशका अन्य डिपोर्टी नागरिकहरू छाड्दै काठमाडौं आउने र आजै फर्किने जनाईएको । अमेरिकाले १०–१२ दिनअघि नै सम्बन्धित नेपाली अधिकारीलाई डिपोर्टको सूचना पठाएको थियो, तर डिपोर्ट गरिने नेपालीहरूको नाम र यकिन संख्या भने खुलाइएको थिएन।
डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकी प्रशासनले आप्रवासन नीति झन कडा बनाएको छ। भिसाको म्याद सकिएपछि पनि बस्ने, भिसा प्रक्रियामा गडबडी गर्ने, वा आपराधिक गतिविधिमा संलग्न पाइएकाहरूलाई प्राथमिकतामा राखी डिपोर्ट गर्ने क्रम तीव्र बनाइएको छ।
नेपाल फर्काइँदै गरेका आजका नेपाली डिपोर्टीहरू कुन कारणले निष्कासित भएका हुन् भन्ने स्पष्ट जानकारी भने अमेरिकी पक्षबाट प्राप्त भएको छैन। न्यौपानेका अनुसार पत्रमा कारण उल्लेख छैन। तर, स्रोतहरूका भनाइमा, अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने, वा दलालमार्फत मोटो रकम तिरी अमेरिका पुगेका धेरै नेपालीहरू पछिल्लो समयमा डिपोर्टमा परिरहेका छन्।
पछिल्लो पाँच महिनामा मात्रै अमेरिकाले १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ। सरकारी तथ्यांक अनुसार, जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६, र मे महिनामा मात्रै ५८ जना नेपालीलाई निष्कासित गरिएको छ। यो आँकडाले आगामी दिनमा डिपोर्टको संख्या अझ बढ्न सक्ने सङ्केत देखिन्छ।
डिपोर्ट भइसकेपछि ती नेपालीहरूमाथि अध्यागमनले सोधपुछ गर्नेछ र आवश्यक प्रक्रिया अनुसार उनीहरूलाई परिवारको जिम्मा वा सम्बन्धित निकायमा बुझाउनेछ।
