उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाः दश वर्षीया बालिकासहित सात जनाको मृत्यु

काठमाडौँ– भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा सोमबार बिहान एक दर्दनाक हेलिकप्टर दुर्घटना भएको छ। केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका श्रद्धालु सवार हेलिकप्टर दुर्घटनामा परि सात जनाको मृत्यु भएको पुष्टि भारतीय सञ्चार माध्यमहरूले गरेका छन्। मृतकहरूमध्ये एक बच्चा पनि रहेको जनाइएको छ।

आर्यन एभिएसन कम्पनीको हेलिकप्टर सोमबार बिहान करिब ५ः१७ बजे केदारनाथ हेलीप्याडबाट गुप्तकाशीका लागि उडेको थियो। उडानकै क्रममा मौसम अचानक खराब भएपछि हेलिकप्टरले अन्यत्र ‘हार्ड ल्यान्डिङ’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। भारतीय मिडियाका अनुसार हेलिकप्टर रुद्रप्रयाग जिल्लाको गौरीकुन्ड नजिकैको जङ्गलमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताइएको छ। राजवीर (पाइलट), विक्रम रावत, विनोद, तृष्टि सिंह, राजकुमार, श्रद्धा र १० वर्षीया बालिका राशिको मृत्यु भएको हो।

प्राप्त विवरण अनुसार केदारनाथ क्षेत्रको मौसम दुर्घटनाको मुख्य कारण भएको अनुमान गरिएको छ। दुर्घटनाको समयमा बाक्लो कुहरो, तिब्र र अत्यन्त कमजोर भिजिविलिटी रहेको बताइएको छ। खराब मौसमका कारण हेलिकप्टर मार्गबाट भट्किएको र त्यसपछि नियन्त्रण गुमाई जङ्गलमा खसको भारतिय मिडियाले जनाएका छन्।

दुर्घटनाको जानकारी पाएपछि उद्धार टोली, एसडीआरएफ, स्थानीय प्रशासन र अन्य सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए। उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। उनले ट्वीटरमार्फत मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनाका कारणको छानबिन गरिने बताएका छन्।

केदारनाथ क्षेत्रमा पछिल्लो समय यो पाँचौं हेलिकप्टर दुर्घटना हो। चारधाम यात्राको क्रममा यस क्षेत्रका हेलिकप्टरहरू बारम्बार दुर्घटनामा पर्ने गरेका छन्। केही समयअघि मात्र श्रद्धालुहरू बोकेर केदारनाथ जाँदै गरेको एउटा हेलिकप्टरले प्राविधिक समस्या आउँदा हाईवेमा आपतकालीन अवतरण गरेको थियो, जसको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो। त्यस घटनापछि भारतीय उड्डयन नियामक निकाय ‘डीजीसीए’ले कडा सुरक्षा जाँच र कारवाहीको प्रक्रिया अघि बढाएको थियो।

यसैगरी, केही महिनाअघि केदारनाथ हेलिप्याड नजिकै भएको अर्को आपतकालीन अवतरणमा दुई डाक्टर र एक पाइलट सकुशल बच्न सफल भएका थिए। प्रशासनले दुर्घटनाको विस्तृत अनुसन्धानका लागि समिति गठन गर्ने तयारी गरेको छ। उड्डयन सुरक्षासम्बन्धी मापदण्डमा कडाइ गर्नुपर्ने आवाज उठ्न थालेको छ, विशेष गरी चारधाम यात्रा जस्ता उच्च जोखिम क्षेत्रहरूमा हेलिकप्टर सेवा सञ्चालन गर्दा।

प्रशासनले मौसमको तत्काल अनुगमन र हेलिकप्टर उडान अनुमति प्रक्रिया अझ कडा बनाउने तयारी पनि गरिरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट