दिल्लीको होटलमा आगलागी हुँदा ६ विदेशीसहित २१ को मृत्युः बिरामी कुर्न वसेकाहरु आफैं मृत्युको मुखमा

नयाँ दिल्ली– आफ्ना आफन्त र बिरामीको उपचारका लागि दिल्लीका अस्पताल पुगेका थुप्रै विदेशी नागरिकहरू सुरक्षित उपचारको आशामा होटलमा बास बसेका थिए। तर बुधबार बिहान उनीहरूका लागि त्यो होटल नै मृत्युको जाल साबित भयो।

दिल्लीको मालवीय नगरस्थित एक होटलमा लागेको भीषण आगलागीमा ६ विदेशी नागरिकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन्। प्रहरी र दमकल विभागका अनुसार मालवीय नगरको हौज रानी क्षेत्रमा रहेको ‘फ्लरिश स्टे’ होटलमा बिहान करिब ८ः५० बजे आगलागी सुरु भएको थियो।

प्रारम्भिक अनुसन्धानमा होटलको बेसमेन्टमा सञ्चालन भइरहेको रेस्टुरेन्टबाट आगो सुरु भएको देखिएको छ। केही मिनेटमै आगोले सम्पूर्ण भवनलाई आफ्नो नियन्त्रणमा लियो र छेउमै रहेको अर्को होटल ‘मिकासा इन’ सम्म फैलियो।

घटनापछि होटलभित्र बसिरहेका मानिसहरू ज्यान जोगाउन आत्तिएर कोठाका झ्याल फोड्दै तल हाम फाल्न बाध्य भएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार कतिपयले पाँचौँ तलासम्मबाट हाम फालेका थिए। स्थानीय बासिन्दाले तल गद्दा बिछ्याएर मानिसहरूलाई जोगाउने प्रयास गरेका थिए। यद्यपि आगो र धुवाँको घेराबाट सबैलाई बचाउन सम्भव भएन।

आगलागीमा मृत्यु हुनेमध्ये लाइबेरिया, नाइजेरिया, मोजाम्बिक र बंगलादेशका ६ जना विदेशी नागरिक छन्। अन्य मृतकमध्ये ९ जना भारतीय नागरिकको पहिचान भइसकेको छ भने ६ जनाको पहिचान अझै खुल्न सकेको छैन।

स्थानीयवासी तौसिफले घटनालाई ‘भयावह नरसंहारजस्तै दृश्य’ को संज्ञा दिएका छन्। उनका अनुसार होटलमा बसिरहेका अधिकांश विदेशी नागरिक दिल्लीका विभिन्न अस्पतालमा उपचाररत बिरामीका आफन्त वा हेरचाहकर्ताका रूपमा बसेका थिए। ‘उनीहरू बिरामीको सेवा गर्न आएका थिए, तर आफैं मृत्युको मुखमा परे,’ उनले भने, ‘धेरै शव जलिरहेको भवनबाट निकाल्नुप¥यो। यस्तो दृश्य जीवनमा पहिलोपटक देखेँ।’

अनुसन्धानका क्रममा घटनाले झन् गम्भीर रूप लिएको छ। प्रारम्भिक तथ्यहरूले होटल सञ्चालनमा व्यापक लापरबाही र कानुनी उल्लंघन भएको देखाएका छन्। जानकारी अनुसार होटलको बेसमेन्टमा सञ्चालन भइरहेको रेस्टुरेन्ट पूर्ण रूपमा अवैध थियो। रेस्टुरेन्ट सञ्चालक लोकेश बजाज उर्फ टिंकूसँग आवश्यक अनुमति वा सञ्चालन इजाजतसमेत नरहेको खुलेको छ।

लोकेश बजाजका मालवीय नगर क्षेत्रमा ‘फ्लरिश स्टे’, ‘फ्लरिश इन’ र ‘लेमन ग्रीन’ नामका तीनवटा होटल सञ्चालनमा रहेको बताइएको छ। घटनापछि उनी फरार भएका छन् र उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ।

यसबीच सञ्चारकर्मीहरू लोकेशको अर्को होटल ‘फ्लरिश इन’ पुग्दा त्यहाँ पनि सुरक्षा मापदण्डको खुला उल्लंघन भइरहेको फेला परेको छ। पाँचतले भवनको बेसमेन्टमै पाहुना बस्ने कोठा बनाइएको देखिएको छ।

आगलागी भएको ‘फ्लरिश स्टे’ होटलमा पनि यस्तै अवस्था रहेको खुलेको छ। सरकारी अभिलेख अनुसार उक्त होटललाई ‘बेड एन्ड ब्रेकफास्ट’ योजनाअन्तर्गत केवल ६ वटा कोठा सञ्चालन गर्ने अनुमति दिइएको थियो। तर वास्तविक रूपमा त्यहाँ करिब २५ वटा कोठा सञ्चालनमा थिए।

दुर्घटनाको समयमा होटलमा ४० भन्दा बढी पाहुना बसिरहेका थिए। अधिकांश मानिस निद्रामा रहेका बेला आगो फैलिएकाले धेरैले भाग्ने अवसरसमेत पाएनन्। दिल्ली फायर सर्भिसका प्रमुख अग्नि अधिकृत एके मलिकका अनुसार होटलसँग वैध ‘फायर एनओसी’ समेत थिएन। भवनमा पर्याप्त आपत्कालीन निकास मार्ग थिएनन्। प्रवेश र बाहिरिने एउटै मात्र बाटो थियो। उनका अनुसार बेसमेन्ट शटरले पूर्ण रूपमा बन्द गरिएको थियो। दमकलकर्मीहरूले शटर काटेर भित्र प्रवेश गर्नुपरेको थियो। त्यहाँबाट ६ जनालाई जीवितै उद्धार गरिएको थियो।

‘आगो बेसमेन्टबाट सुरु भयो र केही समयमै माथिल्ला तलासम्म फैलियो,’ मलिकले भने, ‘यदि भवनमा पर्याप्त सुरक्षा संरचना भएको भए यति ठूलो मानवीय क्षति हुँदैनथ्यो।’ भीषण आगो नियन्त्रणमा लिन १७ वटा दमकल परिचालन गरिएको थियो। धेरै घण्टाको प्रयासपछि मात्रै आगो नियन्त्रणमा आएको थियो।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री कार्यालयले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि घटनालाई अत्यन्त दुःखद भन्दै प्रभावित परिवारलाई आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट