अमेरिकी अधिकारीहरूको ‘अस्वाभाविक’ नेपाल यात्रा श्रृंखलाः लगातार उच्चस्तरीय भ्रमणले बढायो चासो

काठमाडौँ– पछिल्ला महिनाहरूमा अमेरिकी उच्च अधिकारीहरूको लगातार काठमाडौं आगमनले नेपाल–अमेरिका सम्बन्धको कूटनीतिक गतिशीलताबारे नयाँ बहस सुरु गरेको छ। एउटै राजनीतिक प्रशासन परिवर्तनपछि छोटो अवधिमै भएका एकपछि अर्को उच्चस्तरीय भ्रमणले कूटनीतिक वृत्तमा ‘अस्वाभाविक सक्रियता’ को संकेत देखिएको टिप्पणी हुन थालेको छ।

वालेन्द्र साह नेतृत्वको वर्तमान सरकार गठनयता मात्रै कम्तीमा तीन जना अमेरिकी उच्च अधिकारीहरू काठमाडौं आइसकेका छन्, जसमा हालैको भ्रमणलाई सबैभन्दा उच्च तहको मानिएको छ।

यसैक्रममा अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्स शनिबार काठमाडौं आइपुगेकी छन्। उनी नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन नेपाल आएकी हुन्।

रोजर्स हाल काठमाडौंको होटल अलाफ्टमा जारी समिटमा सहभागी छिन्। उक्त कार्यक्रमलाई अमेरिकी सार्वजनिक कूटनीति, युवा नेतृत्व विकास र डिजिटल कनेक्टिभिटी विस्तारसँग जोडिएको प्रमुख मञ्चका रूपमा प्रस्तुत गरिएको छ।

रोजर्सभन्दा अघि पनि अमेरिकी उच्च तहका अधिकारीहरूको काठमाडौं भ्रमण शृंखला देखिएको छ। ७ वैशाखमा दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आएका थिए भने १७ वैशाखमा भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण र पश्चिम एसियाका विशेष दूत सर्जियो गोरले पनि नेपाल भ्रमण गरेका थिए।

पद र ओहोदाका हिसाबले हालको भ्रमण श्रृंखलामा रोजर्स सबैभन्दा उच्च तहकी अधिकारी हुन्। उनको आगमनलाई कूटनीतिक विश्लेषकहरूले निरन्तरता संकेत गर्ने भ्रमणका रूपमा व्याख्या गरेका छन्।

रोजर्स भारतको नयाँदिल्लीबाट शनिबार साँझ काठमाडौं आइपुगेकी हुन्। नेपाल आउनुअघि उनी उत्तरप्रदेशस्थित आगरा पुगेर ताजमहलको भ्रमण गरेकी थिइन्। उनको तीनदिने नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनासँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

कूटनीतिक स्रोतहरूका अनुसार यो भ्रमणलाई औपचारिक कार्यभ्रमण (वर्किङ भिजिट) का रूपमा व्याख्या गरिए पनि यसको समय, निरन्तरता र तहले थप चासो उत्पन्न गरेको छ। एक कूटनीतिक अधिकारीका अनुसार भेटवार्ता मुख्य रूपमा अमेरिकी दूतावासका कार्यक्रम, सार्वजनिक कूटनीति र द्विपक्षीय सम्बन्धको निरन्तरतामा केन्द्रित हुने देखिएको छ।

‘ठोस नयाँ एजेन्डा भन्दा पनि सम्बन्धको उपस्थितिलाई सुदृढ बनाउने किसिमको भ्रमण हो,’ ती अधिकारीले भने। यसअघि अमेरिकी दूतावासकै सार्वजनिक कूटनीति अधिकारी माइक हार्करले सगरमाथा आरोहण गरेका थिए। त्यससँग सम्बन्धित सम्मान कार्यक्रममा पनि रोजर्सको सहभागिता रहने कार्यक्रम छ।

छोटो अवधिमा लगातार अमेरिकी अधिकारीहरूको काठमाडौं आगमनले नेपाल–अमेरिका सम्बन्धको गहिराइ, प्राथमिकता र रणनीतिक चासोबारे विभिन्न व्याख्या सुरु भएका छन्। कूटनीतिक विश्लेषकहरूका अनुसार यो भ्रमण श्रृंखला केवल औपचारिक मात्र नभई सार्वजनिक कूटनीति विस्तार, क्षेत्रीय उपस्थितिको सुदृढीकरण र द्विपक्षीय सम्बन्धलाई नयाँ ढाँचामा लैजाने संकेतका रूपमा पनि बुझ्न सकिन्छ।

तर यसबारे दुवै पक्षबाट कुनै विशेष नयाँ रणनीतिक एजेन्डा सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन। त्यसैले यी भ्रमणहरू ‘सामान्य कूटनीतिक सक्रियता’ हो वा ‘नयाँ चरणको सम्बन्ध संकेत’ भन्ने प्रश्न खुलै छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट