जोगवनी नाकामा बसेर सर्वसाधारणसँग पैसा उठाउने ‘नक्कली प्रहरी’ पक्राउ

विराटनगर — विराटनगर–१६ स्थित रानी–जोगबनी सडकखण्डमा बसेर आफूलाई प्रहरी बताउँदै सर्वसाधारणसँग रकम असुल्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ का २५ वर्षीय धनकुमार थारु पक्राउ परेका हुन।
मोरङ प्रहरीका डीएसपी कोपिला चुडालका अनुसार थारुले विशेषगरी शारीरिक रूपमा अपांगता भएका व्यक्ति र भारतको जोगवनीबाट घरेलु प्रयोजनका सामान बोकी नेपालतर्फ आउने सर्वसाधारणलाई लक्षित गर्दै रकम असुल्दै आएका थिए।
‘म प्रहरी हुँ’ भन्दै डर त्रास देखाई धम्क्याएर उनीहरूसँग पैसा असुल गर्ने गरेको सूचनाको आधारमा उनलाई शुक्रबार पक्राउ गरिएको डीएसपी चुडालले जानकारी दिईन। थारुले विगतदेखि नै रानी–जोगबनी सडकखण्डमा सर्वसाधारणलाई दुःख दिँदै रकम असुली गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनलाई मोरङ जिल्ला अदालतबाट अभद्र व्यवहार कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार थारुले भारतबाट घरायसी सामान ल्याउने सर्वसाधारणलाई अनावश्यक रूपले रोकी डर देखाउने, विशेषगरी कमजोर समूह र अपांग व्यक्तिहरूलाई लक्षित गरी धम्की दिँदै पैसा असुल गर्ने कार्यमा संलग्न थिए।