शम्भुनाथ नगरपालिकामा पत्रपत्रिकाको नाममा ४० लाख अनियमितता, अख्तियारले थाल्यो छानविन

राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनु र लेखापालसहितको मिलेमतोमा पत्रपत्रिकाका नाममा मात्रै ४० लाख रुपैयाँ अनियमितता भएको आरोप लागेपछि अख्तियारले छानविन थालेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीस्थित कार्यालयले गत १६ जेठमा नगरपालिकालाई पत्राचार गर्दै सो अनियमिततासम्बन्धी स्पष्टिकरण माग गरेपछि उक्त प्रकरण सार्वजनिक भएको हो।
आयोगले प्राप्त उजुरीका आधारमा प्रमुख प्रशासकीय अधिकृत सोनु र लेखापालले जनचेतनामूलक विज्ञापनका नाममा पत्रपत्रिका तथा कन्टिजेन्सी शीर्षकबाट ४० लाख रकम खर्च गरेको र होटलहरूलाई गैरकानुनी रूपमा भुक्तानी दिएको आरोप छ।
अख्तियारले उक्त प्रकरणको यथार्थ विवरण, सो सम्बन्धी सम्पूर्ण कागजात र लिखित प्रतिक्रिया पेश गर्न नगरपालिकालाई निर्देशन दिएको छ। अख्तियारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा १ को देहाय खण्ड (क) बमोजिम कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।