सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

राजविराज– सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
शनिबार बिहान करिब ५ः५० बजे हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडक खण्डमा विपरीत दिशाबाट गइरहेका दुई मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
कंकालिनी मन्दिरबाट भलुवा तर्फ गइरहेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकल चालकको ज्यान गएको हो।
मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–११, राजपुरका १९ वर्षीय अबिनाश मण्डल र कंचनरुप नगरपालिका–१, बैरवाका ३४ वर्षीय ओमप्रकाश पंजियार छन्। दुर्घटनापछि दुबैलाई उपचारका लागि अस्पताल लगिएकोमा मण्डलको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पंजियारको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
को १० प ५६२ नम्बरको मोटरसाइकलमा पछाडि सवार कंचनरुप नगरपालिका–१ का ३० वर्षीय सुभाष महतो घाइते भएका छन्। महतो उपचारपछि डिस्चार्ज भइसकेका छन्।
दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।