सरुवा भएर पनि किन गजेन्द्र नारायण सिंह अस्पताल छोड्दैनन् यी दुई नायब सुब्बा ?

राजविराज– सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालबाट अन्य कार्यालयमा सरुवा गरिएका दुई नायब सुब्बा लामो समयसम्म पनि सम्वन्धि कार्यालयमा उपस्थित भएका छैनन्। उनीहरु अहिले पनि अस्पतालमै हाजिर भएर वसिरहेका छन्।

आर्थिक वर्षको अन्त्यमा समेत उनीहरू लामो समयसम्म नयाँ कार्यालयमा हाजिर नभई पुरानै कार्यस्थलमा रहेका कारण आर्थिक लेनदेनको आशंका गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ चैत २५ गतेको निर्णयअनुसार नायब सुब्बा नारायण यादवलाई मन्त्रालयमै सरुवा गरेको थियो। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८२ वैशाख २४ मा नायब सुब्बा रामबाबु यादवलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरेको थियो।

तर, यी दुवै कर्मचारी सरुवा भएर गएको ठाउँमा अहिलेसम्म हाजिर भएका छैनन्। मन्त्रालयले सरुवा आदेश जारी गरिसके पनि उनीहरू पुरानै कार्यालयमा काम गरिरहेका छन्। मन्त्रालयकै निर्देशनअनुसार ३ दिनभित्र सम्वन्धित कार्यालयमा हाजिर गराउन भनिए पनि आदेशको पालना भएको छैन।

अस्पताल स्रोतका अनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यसँगै बजेट खर्च, बिल पास, सामग्री खरिद र सप्लायर्ससँगको भुक्तानी प्रक्रिया भइरहेका बेला यी कर्मचारीहरू अस्पतालमै बसेर प्रक्रिया प्रभावित गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ जेठ २८ गते सबै निकायमा पत्र पठाउँदै काज फिर्ता र रमाना दिने कार्य ३ दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सो पत्रमा आदेश अनुसार कार्य नगर्ने गैरहाजिर कर्मचारीलाई विभागीय कारबाही गरिने चेतावनी पनि दिइएको थियो।

तर, अहिलेसम्म गजेन्द्र नारायण सिंह अस्पतालबाट सम्बन्धित कर्मचारीहरू सरुवा कार्यस्थलमा गइसकेका छैनन्, न त अस्पताल प्रशासनले नै उनीहरुलाई ताकेता गरेको छ।

अस्पतालका केही कर्मचारीहरुका अनुसार उनीहरू असार मसान्तसम्म अस्पतालमै रहेर सप्लायर्ससँगको अन्तिम भुक्तानी प्रक्रियामा संलग्न रहन खोजिरहेका छन्। आर्थिक वर्ष समाप्त भएपछि मात्र सरुवा भएको ठाउँमा जाने तयारीमा रहेको स्रोत बताउँछ।

यता, नायब सुब्बा रामबाबु यादवले भने आफनो सरुवा भएपनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पदस्थापन गरिनसकेका कारण आफु अस्पतालमै रहेको बताए। ‘पदस्थापन भएपछि म सम्वन्धित ठाउँमा हाजिर हुने हो। अहिले यहीँ कार्यरत छु।’– उनले भने।

मन्त्रालयमै सरुवा भएका नायब सुब्बा नारायण यादवसँग भने सम्पर्क हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट