सादगीको आवरणभित्र सम्पत्तिको थुप्रोः महावीर पुनसँग २८ रोपनी जग्गा, सुन र २९ लाख नगद

काठमाडौँ — आफूलाई सधैँ अत्यन्त सादगीपूर्ण, न्यून व्यक्तिगत आवश्यकतामा बाँच्ने र सहयोगका भरमा बाँचेको वताउने अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएका प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अन्ततः आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

वर्षौँदेखि ‘व्यक्तिगत सम्पत्ति र सुविधा नभएको’ छवि निर्माण गर्दै आएका पुनको विवरण सार्वजनिक भएपछि सामाजिक र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। सामान्य कपडा, अस्तव्यस्त जीवनशैली र व्यक्तिगत खर्चसमेत अरूको सहयोगबाट चल्ने सन्देश दिने पुनले सार्वजनिक गरेको विवरणअनुसार उनीसँग पोखरा महानगरपालिका–७ माझठानामा करिब २८ रोपनी जग्गा रहेको खुलेको छ।

उनले उक्त जग्गा २०५२ सालतिर पदम पुनसँग मिलेर करिब चार लाख रुपैयाँमा खरिद गरेको उल्लेख गरेका छन्। सम्पत्तिको स्रोतमा उनले अमेरिका बसाइका क्रममा बचत भएको रकमलाई ‘स्वआर्जन’ का रूपमा उल्लेख गरेका छन्।

पुनका अनुसार उक्त जग्गा अहिले राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको छ। तर हालसम्म बिक्री हुन नसकेको उनले जनाएका छन्। सार्वजनिक विवरणमा उनले आफूले निजी प्रयोजनका लागि नभई सामाजिक उद्देश्यका लागि उक्त सम्पत्ति प्रयोग गर्न खोजेको सन्देश दिन खोजेका छन्।

यसैगरी पुनले आफूसँग करिब तीन तोला सुन रहेको पनि खुलाएका छन्। उनले उक्त सुन २०६० सालतिर किनेको उल्लेख गरे पनि त्यसको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरूले उपहारस्वरूप दिएको बताएका छन्। लामो समयदेखि आफूलाई व्यक्तिगत विलासिताभन्दा टाढा देखाउँदै आएका पुनको सम्पत्ति विवरणमा सुनसमेत देखिएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ।

बैंक मौज्दाततर्फ हेर्दा पुनसँग नेपाल बैंक लिमिटेडमा करिब चार लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ। नेपाल बैंकमा रहेको रकम साथीहरूबाट व्यक्तिगत खर्चका लागि प्राप्त सहयोग भएको उनले बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रुपैयाँ भने प्रतिनिधिसभा निर्वाचन लड्दा सहयोगीहरूले दिएको चन्दाबाट बचेको रकम भएको पुनको दाबी छ। उनले उक्त रकम आफू निर्वाचित भएको म्याग्दी सदरमुकाम बेनीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिने बताएका छन्।

पुनले आफ्नो आत्मकथा पुस्तक बिक्रीबाट हालसम्म करिब दुई लाख ५० हजार रुपैयाँ आम्दानी भएको पनि उल्लेख गरेका छन्। उक्त रकम व्यक्तिगत रूपमा प्रयोग नगरी राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रकै खातामा जम्मा गरिएको उनको भनाइ छ।

सम्पत्ति विवरणमा पुनले आफूसँग कुनै सवारी साधन, ऋण, पशुधन वा अन्य प्रकारका सम्पत्ति नरहेको उल्लेख गरेका छन्। सार्वजनिक जीवनमा पारदर्शिता देखाउने उद्देश्यले विवरण सार्वजनिक गरिएको भए पनि पुनको जीवनशैली र सार्वजनिक छविबीचको अन्तरलाई लिएर बहस सुरु भएको छ। लामो समयदेखि अत्यन्त साधारण र संघर्षशील छवि निर्माण गरेका पुनसँग उल्लेख्य परिमाणको जग्गा र नगद मौज्दात रहेको खुलासाले कतिपयलाई आश्चर्यचकित बनाएको छ भने समर्थकहरूले यसलाई वैधानिक र पारदर्शी सम्पत्ति भन्दै बचाउ गरिरहेका छन्।

विशेषगरी सामाजिक अभियन्ता र वैकल्पिक राजनीतिका प्रतिनिधिका रूपमा प्रस्तुत हुँदै आएका व्यक्तिहरूले सार्वजनिक रूपमा बनाएको छवि र वास्तविक आर्थिक अवस्थाबीच कति दूरी हुन्छ भन्ने प्रश्न पुनः सतहमा आएको छ। महावीर पुनको विवरणले अहिले सामाजिक सञ्जालमा ‘सादगीको राजनीति’ र ‘छविको निर्माण’ सम्बन्धी नयाँ बहस जन्माएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *