कर्नाटकको एउटै जिल्लामा एक महिनामा १८ जनाको हर्टएट्याक भएर मृत्यु, अनुसन्धान सुरु

राजधानी– भारतीय राज्य कर्नाटकको हसन जिल्लामा एक महिनाकै अवधिमा हर्टएट्याक भएर १८ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरू सबैको उमेर १८ देखि ४० वर्षसम्म रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अचानक यति धेरै मृत्युप्रति चिन्ता व्यक्त गर्दै कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले घटनाबारे छानबिन गर्न आदेश दिएका छन्। उनी भन्छन्, ‘एक महिनामा एउटै जिल्लामा १८ जनाको हृदयाघातबाट मृत्यु हुनु गम्भीर विषय हो। यसको पछाडिको कारण के हो, हामी बुझ्न चाहन्छौं।’
अनुसन्धान जयदेव कार्डियोभास्कुलर साइन्सेस एन्ड रिसर्च इन्स्टिच्युटका निर्देशकको नेतृत्वमा गरिनेछ।
स्वास्थ्य मन्त्रीले सीएनएन न्यूज १८ सँग कुरा गर्दै भनेका छन्, ‘हामीलाई यो घटनाको जानकारी प्राप्त भएपछि तुरुन्त अनुसन्धानको आदेश दियौं। एकै जिल्लामा हृदयाघातबाट यति धेरै मृत्यु हुनु चिन्ताको विषय हो।’
यस घटनाले स्थानीय प्रशासन र जनस्वास्थ्य क्षेत्रमा समेत उच्च सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। अनुसन्धानपछि मात्रै यस्ता घटनाको कारण र रोकथामका उपाय स्पष्ट हुने अपेक्षा गरिएको छ।