विराटनगरमा वाईसीएल कार्यकर्ता अपहरण–डकैती अभियोगमा पक्राउ, राजनीतिक आवरणमा चलाएका थिए अपराधको श्रृंखला

विराटनगर – अपहरण र डकैतीको योजनामा संलग्न रहेको अभियोगमा प्रहरीले विराटनगरबाट नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका एक जना कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ पर्ने विराटनगर– ११ का २६ वर्षीय कुशल पाण्डे छन्।

बुधबार पक्राउ परेका पाण्डेविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले शरीर बन्धक बनाएर डाँका गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ। अपहरणमा प्रयोग भएको मोटरसाइकल र लुटपाट गरिएको नगद पनि प्रहरीले बरामद गरेको छ।

पाण्डे असार ११ गते बिहान विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरी लुटपाट गरेको घटनामा मुख्य योजनाकार रहेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। विक्रम आफ्ना भिनाजुको ३ लाख ६४ हजार रुपैयाँ बैंकमा जम्मा गर्न जाँदै गर्दा महतो टोलबाट अपहरणमा परेका थिए।

तीन जनाको समूहले आफूलाई प्रहरी बताउँदै उनलाई विराटनगर–१४ जतुवा पु¥याएर धम्की दिँदै रकम लुटपाट गरेको उजुरी परेको थियो। यस घटनामा संलग्न दुई जना समीर हुसेन र आशिफ अन्सारी यसअघि नै पक्राउ परिसकेका छन्। पाण्डे भने घटनापछि फरार थिए।

मोरङ प्रहरीका डीएसपी हस्तबहादुर सुनारका अनुसार उनी राजनीतिक आवरणमा लामो समयदेखि विभिन्न गम्भीर आपराधिक घटनामा संलग्न रहँदै आएको खुलेको छ। पाण्डेविरुद्ध यसअघि दुईवटा ज्यान मार्ने उद्योग र एउटा अभद्र व्यवहारको मुद्दा चलिसकेको र उनी बारम्बार फरार हुँदै आएको तथ्य खुलेको छ।

मञ्जु तामाङ र स्माइल साफीले दायर गरेका उजुरीबाट ज्यान मार्ने उद्योगका मुद्दा दर्ता भएका थिए भने प्रवेज आलमले अभद्र व्यवहारको जाहेरी दिएका थिए। प्रहरी स्रोतका अनुसार पाण्डे यसअघि नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) विराटनगरमा आबद्ध थिए। लामो समयसम्म राजनीतिक पहुँचको आडमा उनी कारबाहीबाट जोगिँदै आएका थिए।

पाण्डेले पक्राउपछि आफू वाईसीएल विराटनगरको अध्यक्ष भएको दाबी गरे पनि माओवादी केन्द्र विराटनगर अध्यक्ष देव राजवंशीले उनी पूर्वसदस्य मात्रै रहेको बताए। प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ। थप संलग्न व्यक्तिबारे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट