वीरगञ्जमा हैजाको प्रकोपः २ जनाको मृत्यु, विद्यालय दुई दिनका लागि बन्द

वीरगञ्ज (पर्सा) — पर्सा जिल्लामा हैजाको संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा दुई जनाको मृत्यु भएको छ। पछिल्ला केही दिनयता वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको झाडापखालाको लक्षण हैजा भएको पुष्टि भएको हो।

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार शनिबार उपचारको क्रममा झाडापखालाको लक्षण देखिएका एक बिरामीको मृत्यु भएको छ। उनको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको उनले जानकारी दिए। यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको छ। तर, यी मृत्युहरू प्रत्यक्ष हैजाकै कारण भएको हो वा होइन भन्ने विषयमा अझै परीक्षण बाँकी छ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ भने १२९ जना बिरामी उपचाररत छन्। संक्रमितहरू मुख्यतया वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ११, १२, १३ र १६ मा भेटिएका छन्।

अधिकृत ठाकुरका अनुसार पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलोपटक हैजाको प्रकोप देखिएको हो। भिब्रियो कोलेरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि लाग्ने हैजाको लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानीको कमी, मांसपेसी दुख्ने, आँखा गाडिने र ज्वरो आउनेजस्ता समस्या देखिन्छ। समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने उनले जानकारी दिए।

खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवसहितको टोलीले हैजा प्रभावित क्षेत्रमा पुगेर नमुना संकलन गरेको छ। मन्त्री यादवका अनुसार खानेपानी पाइपलाइनमा ढलको दूषित पानी मिसिएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

प्रभावित ११ ठाउँका पानीका नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ। ‘नमुना परीक्षणको प्रतिवेदन आएपछि यकिनसँग भन्न सकिनेछ,’ मन्त्री यादवले बताए।

विद्यालय दुई दिनका लागि बन्द
संक्रमण समुदायस्तरमै फैलिएको भन्दै वीरगञ्ज महानगरपालिकाले आइतबार र सोमबार दुई दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा हैजाको प्रकोप नियन्त्रणमा आउन नसकेको अवस्थामा सामूहिक भीड कम गर्न विद्यालय बन्द गरिएको उल्लेख छ।

सरसफाइ र ‘डेडिकेटेड बेड’ को व्यवस्था
जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले सबै अस्पतालमा हैजा र झाडापखालाका बिरामीका लागि ‘डेडिकेटेड बेड’ छुट्याउन निर्देशन दिएको छ। साथै, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय निकायलाई सक्रिय परिचालन गरी घरदैलो जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

निमित्त सीडीओ सुमनकुमार कार्कीका अनुसार हैजा नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संस्था, रेडक्रस, गैरसरकारी संस्था र समुदायस्तरमा आवश्यक सामग्री वितरण गरी जागरण अभियान चलाइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट