सप्तरीमा बहुविवाहदेखि मानव बेचबिखनसम्मका मुद्दामा ५ फरार प्रतिवादी पक्राउ
राजविराज — सप्तरी जिल्लामा लामो समयदेखि फरार रहेका विभिन्न गम्भीर आपराधिक मुद्दाका ५ जना प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले एकसाथ नियन्त्रणमा लिएको छ।
बहुविवाह, चोरी, लिखत सम्बन्धी कसूर, ज्यान मार्ने उद्योग, कुटपिट तथा मानव बेचबिखनजस्ता मुद्दामा संलग्न भई वारदातपश्चात फरार भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई धरौटीमा रिहा गरिएको छ भने केहीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
प्रहरीका अनुसार तिरहुत गाउँपालिका–५ की संगिता कुमारी महतो बहुविवाह मुद्दामा पक्राउ परेकी हुन्। उनलाई सप्तरी जिल्ला अदालतको आदेशअनुसार २५ हजार रुपैयाँ धरौटीमा तारेखमा छोडिएको छ। यस्तै, छिन्नमस्ता गाउँपालिका–२ का कृष्ण कुमार यादव र बलानबिहुल गाउँपालिका–३ का कुन्दन कुमार यादव लिखत सम्बन्धी मुद्दामा पक्राउ परेका छन्। उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको प्रहरीको भनाइ छ।
चोरी मुद्दामा संलग्न एक प्रतिवादीलाई २०८२ माघ ७ गते इलाका प्रहरी कार्यालय लहान पठाइएको छ। त्यसैगरी, महादेवा गाउँपालिका–२ का सरद यादव र शम्भुनाथ नगरपालिका–७ का विरेन्द्र कुमार दास ज्यान मार्ने उद्योग तथा कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका छन्। उनीहरूमध्ये एक जनालाई पाँच हजार रुपैयाँ धरौटीमा तारेखमा छोडिएको छ भने अर्को प्रतिवादीलाई म्याद थपका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर पठाइएको छ।
यसै क्रममा मानव बेचबिखन मुद्दासँग सम्बन्धित एक फरार प्रतिवादी पनि प्रहरी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले अदालतको आदेश र कानुनी प्रक्रिया अनुसार आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइरहेको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार फरार प्रतिवादीहरूको खोजतलासलाई अझ तीव्र बनाइएको छ र कानून उल्लंघन गर्ने जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइनेछ।

