साझेदारी व्यवसायको प्रलोभन देखाई २० लाख ठगी गर्ने विराटनगरका अमित महतो पक्राउ

विराटनगर – साझेदारीमा व्यापार व्यवसाय गर्ने नाममा सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने समूहका एक सदस्य पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–४ घर भएका अमित महतो भनिने कृष्ण मुर्मु छन्। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मुर्मुले नवलपरासीका जोगबहादुर थारु र बच्चु गुरुङसँग मिलेर पाँचथरको फाल्गुनन्द–२ का चक्रराज रम्तेललाई साझेदारीमा जग्गा कारोबार, डलर कारोबार र अन्य व्यापार व्यवसायबाट ठूलो नाफा कमाइ दिने प्रलोभन देखाएका थिए। सोही क्रममा रम्तेलसँग २० लाख रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ।
पक्राउ परेका मुर्मुलाई पाँचथर लगेर प्रहरी हिरासतमा राखीएको छ। उनको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर रुपेश तामाङले जानकारी दिए। साथै, ठगी प्रकरणमा संलग्न रहेका थारु र गुरुङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।