प्रहरी र होटल मालिक मिलेर १६ वर्षीया किशोरीलाई बन्धक बनाई १९ दिन बलात्कार, ३ जना कारागार चलान

जनकपुर– धनुषामा १६ वर्षीया एक किशोरीलाई अपहरण गरी १९ दिनसम्म होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई प्रहरीसहित ३ जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।

जिल्ला अदालत धनुषाका न्यायाधीश इश्वर आचार्यको इजलासले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी जवान बरुणकुमार साह र नितेशकुमार महतो तथा होटल मधेश प्रदेशका कामदार धीरजकुमार दासलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। तर, मुद्दाका मुख्य अभियुक्त मानिएका जनकपुर मुरलीचोकस्थित होटल मधेश प्रदेश गेस्ट हाउसका सञ्चालक मोलवी साहव भनिने अजिज राइन भने ४ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

घटनाको सिलसिला गत वर्ष २९ चैतमा सुरु भएको थियो। आमा खेतमा रहेको बेला घरनजिकै पसल चलाउने धनौजी गाउँपालिकाका–५ का ताहिर राइनले विवाहको प्रलोभन देखाएर किशोरीलाई अपहरण गरेका थिए। उनले किशोरीलाई जनकपुर ल्याएर होटलमा राखे। अनि आफूसहित अन्य व्यक्तिहरूबाट पनि बलात्कार गराए। घट्ना त्यतिमा मात्रै सिमित छैन, ताहिरले आफुलाई सोही होटलवालालाई विक्री गरेको समेत किशोरीको दावी छ।

होटलमा बेचिएपछि किशोरीले भागेर ज्यान जोगाईन। त्यसपछि जेठ ३ गते उनले जिल्ला प्रहरी कार्यालय धनुषामा मानव बेचबिखन र बलात्कार मुद्दामा जाहेरी दिएकी थिइन्। तर प्रहरी प्रशासनले तत्काल सुनुवाइ गरेन। जाहेरी दर्ता नै नहुँदा ताहिर राइन विदेश भाग्न सफल भए। सरकारी वकिल कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगले पटक–पटक दबाब दिएपछि मात्र प्रहरीले मुद्दा दर्ता गर्यो।

तर, लापरबाही गर्दा अर्को भयावह घटना घट्यो। असार १७ गते बिहान करिव ४ बजे घरबाट बाख्रा बाँध्न निस्किएकी किशोरीलाई अञ्जली महरा र अन्य दुई जनाले जवर्जस्ती नियन्त्रणमा लिएर अपहरण गरे। आँखामा पट्टि बाँधेर लगिएकी उनलाई जनकपुरको पिडारीचोकस्थित सीएफसी होटलमा पु¥याईयो। त्यहाँ ताहिर राइनका भिनाजु फिरोज राइनसँगै दुई प्रहरी जवान बरुण साह र नितेश सिंह पनि पुगे। उनीहरूले किशोरीलाई जाहेरी फिर्ता लिन धम्की दिएर कुटपिट गरे र दुई दिनसम्म होटलमै बन्धक बनाएर पटक–पटक बलात्कार गरे।

तेस्रो दिन किशोरीलाई मुरलीचोकस्थित होटल मधेश प्रदेश गेस्ट हाउसमा सारियो। त्यहाँ पनि प्रहरी पोशाकमै आएका बरुण, नितेश र राज भन्ने प्रहरी जवानले बलात्कार गरे। किशोरीलाई १७ दिनसम्म होटलमा बन्धक बनाएर होटल सञ्चालक, कामदार र ग्राहकहरूसमेतलाई बलात्कार गर्न लगाइएको मुद्दाको मिसिलमा उल्लेख छ।

यो घटनामा प्रहरीकै संलग्नता देखिएपछि मुद्दा दबाउने र मिलाउने प्रयास भएको देखियो। पीडित पक्षका अनुसार होटेल सञ्चालक र प्रहरी मिलेर किशोरीकी आमा र मामासँग २० लाख रुपैयाँमा मिलापत्र गर्ने प्रयास पनि गरे। तर किशोरीले न्यायको माग गरेपछि दबाब सिर्जना भयो।

अन्ततः मुद्दा दर्ता भयो। अदालतको आदेशमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रतिवादीहरूसँग भएको कल डिटेललगायतका प्रमाणहरूका आधारमा तीन अभियुक्तलाई पुर्पक्षका लागि कारागार पठाइएको उल्लेख जनाईएको छ। तर होटल सञ्चालक अजिज राइन भने होटल ठेक्कामा लगाएको सम्झौतापत्र पेस गरेर धरौटीमा छुटेका छन्।

महिला अधिकारकर्मीहरूले प्रहरीको बेवास्ता र संलग्नताका कारण घटना थप भयावह बनेको आरोप लगाएका छन्। सरकारी वकिल कार्यालय धनुषाका प्रमुख विदुर कार्कीका अनुसार सुरुदेखि नै प्रहरी गम्भीर नबनेका कारण दोस्रो अपहरण र सामूहिक बलात्कारजस्तो जघन्य अपराध भएको हो।

राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै सम्बन्धित प्रहरी अधिकृतहरूसँग जवाफ मागेको छ। अधिकारकर्मीहरुका अनुसार यो घटना केवल एउटा अपहरण र बलात्कार मात्र नभई प्रहरीकै संलग्नता, लापरबाही र ढिलासुस्तीले पीडितलाई दोहो¥याएर पीडामा पार्ने गम्भीर उदाहरण बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट