सांसदको तडकभडक, ड्रोनबाट मालाः लालविक्रम थापाको ‘प्रदर्शन राजनीति’को सर्वत्र आलोचना

काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भएको सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद लालबहादुर थापाको एउटा दृश्यले नयाँ राजनीतिक शक्ति दाबी गर्ने दलभित्रैको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ।

अबिर र मालाले सजिएका थापालाई ड्रोनमार्फत माला लगाउन खोजिएको दृश्य सार्वजनिक भएसँगै त्यसप्रति व्यापक आलोचना सुरु भएको हो। सुरुमा २४ सेकेन्डको छोटो दृश्य मात्र सामाजिक सञ्जालमा फैलिएको सार्वजनिक भएको थियो। जसमा ड्रोनमार्फत माला उडाएर सांसदलाई लगाउन खोजिएको देखिन्छ।

यही दृश्यका आधारमा धेरै प्रयोगकर्ताले टिप्पणी गरेका थिए। तर पछि सो घटनाको पूर्ण पृष्ठभूमि सार्वजनिक भएपछि दृश्यको वास्तविकता अझ स्पष्ट भएको छ। सांसद थापाकै विजयी जुलुसमा सहभागी एक व्यक्तिले खिचेको लामो दृश्यमा ड्रोनमा पार्टीको झण्डा राखेर त्यहीँ माला अड्काई सांसदलाई लगाउन खोजिएको देखिन्छ।

तर ड्रोनबाट माला लगाउन असफल भएपछि एक व्यक्तिले माला निकाल्ने क्रममा ड्रोन पनि दुर्घटनामा परेको देखिन्छ। यस घटनाले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया निम्त्याएको छ। विशेषगरी नयाँ राजनीतिक संस्कार र सादगीको नारासहित उदाएको भनिएको दलका प्रतिनिधिबाट यस्तो प्रदर्शन देखिएको भन्दै आलोचना चर्किएको हो।

निर्वाचनअघि रास्वपाले विजयोत्सव नगर्न आन्तरिक निर्देशन दिएको चर्चा भइरहेका बेला सांसद थापाले देखाएको यो तडकभडकलाई धेरैले विरोधाभासपूर्ण व्यवहारका रूपमा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई केवल एउटा ‘दृश्य प्रदर्शन’ नभई राजनीतिक संस्कारको प्रश्नका रूपमा उठाएका छन्। केहीले प्रविधिको प्रयोगको नाममा गरिएको यस्तो गतिविधिलाई ‘नौटंकी’ को संज्ञा दिएका छन् भने केहीले देशको विकासको सन्दर्भमा व्यङ्ग्य गर्दै यस्तो शैलीको आलोचना गरेका छन्। ‘अब देश यसरी नै बन्छ, हातले काम होइन, ड्रोनबाट माला लगाएर’ भन्ने व्यङ्ग्यात्मक टिप्पणीदेखि लिएर ‘नयाँ भनिएकाहरू पनि पुरानै शैलीमा देखिन थाले’ भन्ने आरोपसम्म सामाजिक सञ्जालमा व्यापक रूपमा व्यक्त भएका छन्।

यति मात्र होइन, कतिपयले यसलाई पार्टीको दीर्घकालीन छविसँग जोडेर चिन्ता व्यक्त गरेका छन्। जनताको असन्तुष्टि र पुराना दलप्रतिको वितृष्णाबाट उभिएको नयाँ शक्तिले पनि उही तडकभडक र प्रदर्शनमुखी व्यवहार देखाउन थालेको भन्दै प्रश्न उठाइएको छ। ‘यस्तै प्रवृत्तिले नयाँ शक्ति पनि पुरानै जस्तो बन्ने खतरा छ’ भन्ने धारणा सामाजिक सञ्जालमा बलियो रूपमा देखा परेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो घटना सामान्य देखिए पनि यसले गहिरो सन्देश दिन्छ। जनअपेक्षाको केन्द्र बनेको नयाँ दलका प्रतिनिधिले सार्वजनिक रूपमा कस्तो व्यवहार देखाउँछन् भन्ने कुरा नै उनीहरूको राजनीतिक विश्वसनीयताको आधार बन्ने गर्दछ। त्यसैले यस्तो तडकभडकपूर्ण प्रदर्शनले केवल व्यक्तिमात्र होइन, समग्र दलको छविमा असर पार्ने विश्लेषण हुन थालेको छ।

सांसद थापाको उक्त गतिविधिले अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म एउटा स्पष्ट बहस जन्माएको छ—नयाँ भन्नेहरू साँच्चिकै नयाँ राजनीतिक संस्कार बोकेर आएका हुन् कि केवल शैली फेरिएको पुरानै प्रवृत्तिको निरन्तरता हो ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट