गायक बाबुल गिरीसँगको प्रेम सम्वन्धमा खटपटपछि गायिका नीतु पौडेलको आत्मदाह प्रयास

काठमाडौँ— गायिका नीतु पौडेलले गायक तथा संगीतकार बाबुल गिरीसँगको लामो समयदेखि चलेको प्रेम सम्बन्धमा विवाद भएपछि घरमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। घटना अनामनगरस्थित बाबुलको एरेन्ज स्टुडियो भएको घरमा घटेको हो, जहाँ नीतुले आफ्नै कफीसप ‘डुर्बिना क्याफे’ सञ्चालन गर्दै आएकी थिइन्।

प्रत्यक्षदर्शीका अनुसार, दिनभर बाबुलसँग विवाद भएपछि नीतुले तल्लो तलामा झरेर आत्मदाह प्रयास गरेकी हुन्। आगो सल्किएपछि बाबुलले उनलाई निभाउने प्रयास गरेका थिए र त्यसक्रममा उनी पनि सामान्य घाइते भए। दुवैलाई तत्काल प्रहरीले उद्दार गरी किर्तिपुरस्थित बर्न अस्पतालमा लगेको थियो। बाबुल डिस्चार्ज भइसकेका छन् भने नीतुको अवस्था गम्भीर रहेको बुझिएको छ।

जानकारी अनुसार, नीतु र बाबुलबीच विवाहका विषयमा मतभेद रहेको स्रोतले बताएको छ। नीतु चाँडै विवाह गर्न चाहन्थिन् भने बाबुल टारिरहेका थिए। बाबुल संगीत क्षेत्रमा हाल निकै व्यस्त छन्, छक्कापञ्जा ५ को गीत ‘बल्ल बुझेँ चाल तेरो’ सुपरहिट भएपछि उनको माग उच्च भएको छ।

रसुवा घर भएकी नीतु थियटर कलाकार हुन्, हाल संगीत क्षेत्रमा संघर्षरत छिन्। आत्मदाह प्रयास अघि, उनले फेसबुक स्टोरीमा संवेदनशील सन्देश लेखेकी थिइन् – ‘आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिँदैछु अब।’

बाबुललाई प्रहरीले सोधपुछका लागि बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट