गृहमन्त्रीको भ्रमपूर्ण दाबीः ‘विदेश भागे’ भनिएका पूर्वउर्जा मन्त्री खड्का डढेको घरमै भेटिए

काठमाडौँ— गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेर भागेको दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै रहेको पुष्टि भएको छ। जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवासमा खड्का सोमबार सार्वजनिक भएका छन्।
गृहमन्त्री अर्यालले केही दिनअघि नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा खड्का देश छाडेर भागिसकेको दाबी गरेका थिए। उनले भनेका थिए, ‘ठुल्ठूला नेताका बारेमा छानबिन सुरु भइरहेको छ। तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन्। उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छन् कि भनेर हामी अध्ययन गरिरहेका छौं।’
गृहमन्त्रीको दावीपछि इकान्तिपुर डटकमले ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका पूर्वमन्त्री खड्का सुटुक्क विदेश’ भन्दै समाचार लेखेको थियो। जसमा नेपाली कांग्रेसका नेतासमेत रहेका दीपक खड्का ‘शंकास्पद’ रूपमा विदेश पुगेको आशंका गरिएको छ भनिएको थियो। ‘उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दायरामा पर्ने क्रममा गत महिना नै सुटुक्क देश बाहिर गएको स्रोतले पुष्टि गरेको छ’ समाचारमा भनिएको छ–‘जेन–जी आन्दोलनको भड्किलो माहोलपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि खड्का पनि मन्त्रीबाट पदमुक्त भएका थिए। प्रदर्शनकारीहरूले उनका बूढानीलकण्ठस्थित निवासमा आगजनी गरेका थिए र त्यहाँ नेपाली तथा विदेशी नोट भेटिएको भिडियो र तस्बिर सार्वजनिक भएको थियो। यही आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको सम्पत्ति विवरण खोजबिन गरिरहेको छ।’
समाचारमा राहदानी विभागका अनुसार खड्कासँग मन्त्री र सांसदको हैसियतमा कूटनीतिक राहदानी रहेको र उनले फेब्रुअरी २०२५ मा विमानस्थलबाट अन्तिम पटक विदेश यात्रा गरेको उल्लेख छ। यसका आधारमा उनी स्थलमार्गबाट भारत हुँदै अमेरिका पुगेको आशंका गरिएको छ।
‘पूर्वमन्त्री खड्का आफ्नो मन्त्री पद तथा व्यापारीक परिचयको माध्यमबाट शंकास्पद कारोबार र गतिविधिमा संलग्न भएको आरोपमा रहँदा पनि अनुसन्धानको दायराबाट बाहिर रहेको बताइएको छ।’ समाचारमा भनिएको छ–‘ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेको, होटलमा संसदीय समितिको बैठक बसालेर स्वार्थप्रेरित कानुन निर्माणमा चलखेल गरेकोलगायत आरोप उनलाई लगाइएका थिए।’
खड्का आफैं पनि जलस्रोतसम्बद्ध व्यापारी भएकाले, उनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पदमा नियुक्ति स्वार्थ समूहको फाइदाका लागि भएको भन्ने आलोचना गरिएको छ भन्दै लेखिएको यो समाचार र वास्तविकता भने फरक पाईएको छ। खड्का आफ्नै जलेको घरमा देखिएपछि जनस्तरमा खलबली मच्चिएको छ। उनका समर्थक र आम जनताले गृहमन्त्रीको भ्रमपूर्ण दाबीलाई आलोचना गर्दै सवाल उठाएका छन्। गृहमन्त्रीले जनतालाई भ्रममा पारेर आफ्नो राजनीतिक एजेन्डा अघि बढाउने प्रयास गरेको उनिहरुको आरोप छ।
यसअघि गृहमन्त्री अर्यालले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग वा संयन्त्र बनाउने चर्चा पनि गरेका थिए। उनले भनेका थिए–सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मार्फत प्रभावकारी छानबिन हुनेछ। तर, खड्काको स्वदेशमै रहँदा पनि ‘भागे’ भन्ने दाबीले सरकारी दाबी र वास्तविकतालाई लिएर व्यापक आलोचना सुरु भएको छ।
विशेषज्ञहरूका अनुसार, गृहमन्त्रीको भ्रमपूर्ण बयानले प्रशासनिक विश्वसनीयता मात्र कमजोर बनाएको छैन, सत्ताप्रतिको जनविश्वासमा पनि ठुलो चोट पुगेको छ। नागरिक अधिकारवादीहरूले भने, ‘सञ्चार माध्यम र आम जनताले गम्भीर प्रश्न सोध्नुपर्ने अवस्था आएको छ, देशमै रहेका ब्यक्तिलाई भागिसक्यो भनेर प्रचार गर्नुको पछाडिको उदेश्य के हुनसक्छ ?’
यस घटनाले नेपालको राजनीतिक व्यवस्थामा भ्रमपूर्ण सूचनाले कसरी जनस्तरमा खलबली र असन्तुष्टि उत्पन्न गर्न सक्छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ।
लोकप्रिय

महाराजगञ्जमा प्रदर्शनकारीले नै गोली चलाएको भिडियो सार्वजनिक, ‘शान्तिपूर्ण आन्दोलन’ को दाबीमाथि प्रश्न
