झापामा माछा मार्न विद्युतीय धराप प्रयोग गर्दा दुई जनाको मृत्यु

दमक — असोज ३० मा मेचीनगर नगरपालिका–१५, निलकोठीमा ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकैको टिमाई नहरमा माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए। उनलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइयो, तर चिकित्सकले उनलाई मृत घोषित गरे।
त्यसको तेस्रो दिन झापामा यस्तै प्रकृतिको अर्को घटना कचनकवल गाउँपालिका–२ मा घट्यो। ४९ वर्षीय लोकबहादुर गाइने माछा मार्ने क्रममा आफैं करेन्ट लाग्दा मृत्यु भएको छ।
दुवै घटनामा करेन्टमार्फत माछा मार्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ। प्रहरी टोली खटेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
विज्ञहरूका अनुसार, यस प्रकारको गैरकानुनी विधि प्रयोग गर्दा मानविय क्षति हुने मात्र होइन, पर्यावरणीय असन्तुलन सिर्जना भएर सिंगो प्राणी जगतका लागि खतरा पनि बढ्छ।
प्रत्येक वर्ष देशभर विभिन्न खोलानालामा माछा मार्न विद्युतीय धराप प्रयोग गर्दा हुने दुर्घटनाको क्रम बढ्दो छ।