पूर्वराष्ट्रपति भण्डारीको घरमा आगजनी गर्न कसरी पुगे ओली निकट कार्यकर्ता ?

काठमाडौँ— ‘जेनजी आन्दोलन’का क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघका कार्यकर्ता सोनम थेबे पक्राउ परेका छन्।
उनी राजनीतिक आवरणमा गुण्डागर्दी र ठगीमा संलग्न रहँदै आएका व्यक्ति भएको प्रहरीले जनाएको छ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौँको धुम्बाराही बस्ने सोनम थेबे भदौ २४ गते भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको घरमा तोडफोड र आगजनीमा संलग्न भएको प्रमाणसहित पक्राउ परेका हुन्।
प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार थेबे ‘जेनजी आन्दोलन’का नाममा चक्रपथ र महाराजगन्ज क्षेत्रका हुलहुज्जतपूर्ण गतिविधिमा सक्रिय देखिएका थिए।
प्रहरीका एक अधिकृतका अनुसार धुम्बाराही क्षेत्रका व्यवसायीलाई धाकधम्की दिई रकम असुल्ने र आपराधिक गतिविधि सञ्चालन गर्ने थेबे एमाले निकट राष्ट्रिय युवा संघमा पनि सक्रिय थिए। उनी ‘गुण्डा नाइके’ चक्रे मिलन समूहका सदस्य रहेको खुलेको छ।
प्रहरीको भनाइमा, उनी राजनीतिक समूहको संरक्षणमा रहेर धम्की, असुली र आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्दै आएका थिए। थेबे पहिले पनि आपराधिक प्रकरणमा मुछिएका थिए। वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै एक करोड आठ लाख तीस हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई ५ भदौ २०८२ मा पक्राउ गरेको थियो।
सो घटनामा ताप्लेजुङकी सहारा सुब्बा (थेबे) पक्राउ परेकी थिइन् र सोनम थेबे पनि त्यसै प्रकरणमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। तर एमाले नेताहरूको दबाबपछि थप अनुसन्धान अघि बढ्न सकेको थिएन।
स्थानीय र प्रहरी स्रोतका अनुसार एमाले नेताहरूले थेबेप्रति बारम्बार संरक्षण दिएको पाइन्छ। प्रहरीलाई पक्राउ नगर्न दबाब दिइएको र उनको नाम जोडिएको ठगी, मिटर ब्याज र गुण्डागर्दीका मुद्दा फाइलै नखुल्ने गरी रोकिएको आरोप पनि लागेको छ।
प्रहरीले भने अहिलेको पक्राउलाई ‘राजनीतिक आन्दोलनको नाममा आपराधिक गतिविधिको स्पष्ट उदाहरण’का रूपमा लिएको छ। एक वरिष्ठ प्रहरी अधिकृतका अनुसार, ‘भण्डारी निवासमाथिको आक्रमण कुनै स्वस्फूर्त प्रदर्शन होइन, योजनाबद्ध गतिविधि थियो। राजनीतिक समूहभित्रैका केही तत्वहरूले अपराधीलाई आड दिए।’
एमाले निकट युवा संघमा सक्रिय रहेर विभिन्न कार्यक्रम र विरोध प्रदर्शनमा युवाहरू भेला पार्ने जिम्मेवारी लिँदै आएका थेबे अहिले प्रहरी हिरासतमा छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेको स्रोतको दावी छ। प्रहरीले उनको समूह र भण्डारी निवास आक्रमणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ।
यस घटनाले ‘जेनजी आन्दोलन’का नाममा हिंसा भड्काउने केही राजनीतिक पृष्ठभूमिका युवाहरू कसरी आपराधिक जालोमा रूपान्तरित भएका छन् भन्ने प्रश्न सतहमा ल्याएको छ।