‘मानव मूल्य’को बहानामा सिंहदरबार जलाउनेलाई सही ठहर्याउँदै रास्वपाका नेता कार्की
काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवादित नेता गणेश कार्कीले सिंहदरबारमा लागेको आगो र संसद भवनमा भएको क्षतिलाई ‘मानव मूल्य र आन्दोलनको नैतिकता’सँग तुलना गर्दै त्यस घटनालाई सही ठहर्याउने किसिमको अभिव्यक्ति दिएका छन्।
विहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले संसद भवन, सिंहदरबार वा प्रधानमन्त्री निवास जले वा नजले त्यसको खास अर्थ नरहेको बताएका छन्। उनले लेखेका छन्, ‘हामी कुनै व्यक्ति विशेषले संसद भवन जलाएको हो कि होइन, सिंहदरबार जलाएको हो कि होइन भन्ने कुराले खास फरक पर्दैन।’
कार्कीका अनुसार नागरिकमाथि अत्याचार गर्ने र शान्तिपूर्ण आन्दोलनमा आएका जनतामाथि गोली चलाउने सरकारलाई यदि संसद र सिंहदरबारले जोगाउने काम गर्छ भने ती भवनहरू पनि सुरक्षित रहँदैनन्। उनले लेखेका छन्, ‘नागरिकलाई हदैसम्मको अपमान गर्ने, शान्तिपूर्ण आन्दोलनमा आएकाहरूलाई ढाल्ने कुनै पनि सरकारलाई सिंहदरबार र संसदले बचाइराख्यो भने सिंहदरबार, संसद भवन र प्रधानमन्त्री निवास पनि सुरक्षित हुदैन, यो कुराले हो खास फरक पार्ने।’
उनले ‘जेन–जी आन्दोलन’ का समर्थकहरूलाई उद्देश्यप्रति अडिग रहन र आन्दोलनको जिम्मेवारी नछोड्न आग्रह गरेका छन्। आफ्नो स्ट्याटसमा उनले लेखेका छन्, ‘प्रिय जेनजी र जेनजीका समर्थकहरू, काठको खरानी र इटाको धुलो देखाएर तर्साउन खोज्छन्। हेक्का राख्नु, मान्छेको खरानीको थुप्रोभन्दा काठको खरानी र इटाको धुलोको थुप्रो ठुलो छ भन्दैमा काठ र इटा भन्दा मान्छे सस्तो हुदैन।’
कार्कीले आन्दोलनबाट भाग्नु कायरता भएको भन्दै आन्दोलनकारीहरूले अपनत्व, जिम्मेवारी र कर्तव्यबोध कायम राख्नुपर्ने बताएका छन्। उनले २३ गते (जेनजी आन्दोलनका क्रममा भएको गोलीकाण्ड) मा नागरिकमाथि गोली चलाउनेहरूलाई अहिले ‘२४ गतेको खरानी फैलाउँदै दोष लुकाउने प्रयास’ गरिरहेको आरोप पनि लगाएका छन्।
‘२३ गते मान्छे ढाल्नेका मतियारहरू, २३ गते राति होस्टल र कोठा–कोठा गई धरपकड गर्न आदेश दिनेहरू अहिले २४ गतेको खरानी फैलाउँदैछन्। सुशासन दे भन्दा गोली दिनेहरूलाई महान् बनाउने प्रपञ्च बाहेक यो अर्थोक केहि होइन,’ उनले भनेका छन्।
स्ट्याटसको अन्त्यमा कार्कीले परिवर्तनका लागि ज्यान त्याग्नेहरूलाई बिर्सन नहुने, आन्दोलनलाई व्यक्तिगत स्वार्थ, पदलोभ र आन्तरिक विभाजनबाट जोगाउनुपर्ने चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘परिवर्तनका लागि ज्यान त्याग्नेहरूलाई बिर्सिएर, अवमुल्यन गरेर पद त्याग्नसमेत तयार नहुनेहरूबाट आन्दोलन संक्रमित हुनुहुदैन। लोभ, व्यक्तिगत इच्छा र पदलोलुपताबाट जोगिनु। नबाढिनु। सबै मिल्नुको विकल्प छैन।’
कार्कीको यो अभिव्यक्ति सिंहदरबार र संसदमा भएको आगलागी घटनापछि आएको हो, जसमा धेरै नेताहरूले ‘राज्यको स्वाभिमान माथि आक्रमण’ गरेको भन्दै आलोचना गरेका छन्। तर, कार्कीले उल्टै सो घटना प्रतीकात्मक प्रतिकार भएको सन्देश दिन खोजेको बुझिन्छ।

