जेनजी नेता रक्षा वमको कडा प्रश्नः देशका लागि ज्यान दिनेहरू आतंककारी, लुटेरा देशभक्त?
काठमाडौँ— जेनजी आन्दोलनकी नेता रक्षा वमले हालैको राजनीतिक विवादमा गम्भीर प्रश्न उठाउँदै आन्दोलनमा बलिदान दिएकाहरुलाई ‘आतंककारी’ ठहर्याउने प्रवृत्तिको कडा शब्दमा खण्डन गरेकी छिन्।
वमले सामाजिक सञ्जाल फेसवुकमा लामो स्ट्याटस लेख्दै सो प्रकारका अभिव्यक्तिहरूको प्रतिवाद गरेकी छिन्। उनले भनेकी छिन् — ‘देशका लागि ज्यान दिनेहरूलाई आतंककारी भन्ने? देश लुट्नेहरूको लागि के के हो कुटी बनाउने?’ उनको यो प्रश्नले अहिलेको राजनीतिक बहसलाई ठाडो चुनौती दिएको छ।
वमले अगाडि लेखेकी छिन् –भ्रष्टाचारको जालो हटाउन भन्दै सडकमा आएका निहत्था विद्यार्थीहरूलाई गोली हान्नु र त्यसपछि उनीहरूलाई आतंककारीको लेबल लगाउनु अत्यन्तं निन्दनीय र अमानवीय कदम हो।
वमले आफ्नो स्ट्याटसमा भनेकी छिन, ‘आन्दोलनका ती दिन सम्झिँदा अझै मुटु काँप्छ। त्यो दिनको ट्रमा अझै छ। आजको दिनमा ति दिदी–बहिनीहरू जसले आफ्नो दाई–भाइ गुमाएका छन्, उनीहरूको रोदन सुन्दा आङ जिरीङ हुन्छ।’ उनले शहीद परिवारको पीडा र तिनीहरूको आजीवन भोगाइलाई सम्झँदै राज्य र समाजले दीर्घकालीन उत्तरदायित्व लिनुपर्नेमा जोड दिएकी छिन्।
‘देश बिग्रियो, देश सक्यो भन्छौ तिमीहरूका लागि के हो देश भनेको? को अटाउँछ यो देशमा?’— उनले प्रश्न गरेकी छिन्। ‘जसले देशको रगत बगाए, ती व्यक्तिहरू के यो देशमा अटाउँछन् कि अटाउँदैनन?’ भन्दै उनले जातीय हिंसामा मारिएका नवराज विकहरू, सिटामोल अभावमा आँशु पिएर बाँचिरहेका कर्णालीबासीहरू, र दूरदराजका विद्यार्थीहरूको पिडा देशले कति ध्यान दिएको छ भनी प्रश्न उठाएकी छिन्।
‘अरू सबै दलाल? तिमीहरूमात्रै देशप्रेमी?’ भन्दै उनले सोधेकी छिन्। उनले वर्तमान राजनीतिक नेतृत्वप्रति तीव्र असहमति प्रकट गरेकी छिन्। वमको तर्क छ –केही व्यक्तिहरू केवल सीमा–रेखा र राष्ट्रिय प्रतीकका रक्षामा केन्द्रित भएर अरू नागरिकहरूको दैनिकी, भाषा, संस्कृति र अस्तित्वगत पिडालाई बेवास्ता गरिरहेका छन्। उनले भनिन्, ‘तिमीहरूका लागि सिमाना मात्रै देश होला तर हाम्रो लागि यो सिमाना भित्र बाँचिरहेका समुदाय, संघर्षरत व्यक्ति, यहाँ बोलिने भाषाहरू, जीवन्त संस्कृतिहरू र मनोरम प्रकृति पनि देश हो।’
वमले शहीदहरूप्रति सम्मान प्रकट गर्दै भनेकी छिन्, ‘देशका लागि शहिद भएकाहरूको रगतले यो देशको जमिन चिसो भएको छ। उनीहरूको नाम इतिहासले चिन्नेछ र कदर गर्नेछ।’ नेतृत्व र समाजसमक्ष वमको यस स्ट्याटसले उठाएका मुख्य मागहरू स्पष्ट छन् — सार्वजनिक बहसमा शहीद र पीडितको सम्मान कायम राख्ने, निहत्था आन्दोलनकारीमाथि राज्यद्वारा भएको दमन र हिंसाको जवाफ माग्ने, र समाजका सबै सिमान्तकृत समूहका आवाजलाई समान नागरिक अधिकार र न्यायमा समेट्ने व्यवस्था गर्न तुरुन्त कदम चाल्नुपर्ने।


