डा. सन्दुक रुईतलाई भगवान र भस्मासुर वनाउने प्रतिस्पर्धाः दुर्गा प्रसाई र शिक्षा मन्त्री पुनको फेसवुकमै घमासान

काठमाडौँ— बारबरा फाउण्डेशनका अध्यक्ष एवम् चर्चित नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुईतको विषयमा मेडिकल ब्यवसायी दुर्गा प्रसाई र शिक्षा मन्त्री तथा आविष्कार केन्द्रका संस्थापक डा. महाविर पुनबीच सामाजिक सञ्जालमै तीव्र विवाद शुरु भएको छ।

दुर्गा प्रसाईले हालै एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘सन्दुक रुईतजस्ता तीन हजार डाक्टर छन्, आँखाका। अरुको नाम किन आउँदैन? किन सन्दुक रुईत मात्रै चर्चामा छन्?’ उनका अनुसार सन्दुक रुईतको चर्चा ‘फाउन्डेशन र मिडियाको प्रभावले कृत्रिम रूपमा बढाइएको’ हो। सोही क्रममा उनले संविधानको प्रसङ्ग जोड्दै भने, ‘२०७२ सालमा ल्याएर हिन्दु राष्ट्र र राजसंस्था दुबै हटाइयो— र यही सब पश्चिमी प्रभावको परिणाम हो।’

प्रसाईको यस भनाइप्रति डा. महाविर पुनले कठोर प्रतिक्रिया दिए। उनले फेसबुकमा प्रसाईको भीडीओसहित राखेर लेखे–‘दुर्गा भाइ, यसरी नै मच्चिँदै ठोस प्रमाणबिना स्वच्छ व्यक्तिहरूलाई दोष लगायौ भने घाटा तिमीलाई नै हुनेछ। डा. सन्दुक रुईत जस्तो विश्व प्रसिद्ध व्यक्तिलाई नचिन्नेले अरु कुरा के जानेर बोल्छ?’ पुनले दुर्गा प्रसाईलाई ‘मनगढन्त प्रचारको नायक’ को रुपमा चित्रित गरेका छन्।

तर विवाद यतिमै रोकिएन। प्रसाईले त्यसको जवाफस्वरूप अर्को लामो फेसबुक स्ट्याटस लेख्दै पुनमाथि नै प्रश्न उठाएका छन्। उनले लेखेका छन्, ‘दाइ, मैले आरोप लगाएको होइन, सत्य बोलेको हुँ। सत्य तितो हुन्छ। अब पनि प्रश्न यही हो— मैले सत्य बोलेँ कि सुदन गुरुङले झूट बोले?’ उनले सन्दुक रुईतलाई ‘अभिभावक’ भन्दै बोलेको सुदन गुरुङ (जेनजी आन्दोलनका अगुवा) को पुरानो भिडियो नै प्रमाणका रूपमा सार्वजनिक गरेका छन्।

प्रसाईले थप लेखेका छन्, ‘म व्यक्तिविरोधी होइन, प्रणाली र ढोंगी प्रवृत्तिविरुद्ध हुँ। सत्यलाई आरोप भन्ने कि आरोपलाई सत्य भन्ने? निर्णय तपाईंहरूको विवेकमा छ।’ उनले महाविर पुनप्रति सम्मान व्यक्त गर्दै ‘सत्य बोल्ने अधिकारलाई धम्कीले दबाउन खोजिएको’ आरोप लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट