अनलाइनमार्फत १४ लाख बढी रकम ठगी गरेका विराटनगरका युवालाई प्रहरीले पक्राउ गरी सप्तरी ल्यायो

सप्तरी — जिल्ला प्रहरी कार्यालय सप्तरीले अनलाइन ठगी गर्ने एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। करिव साढे १४ लाख रुपैयाँभन्दा वढि ठगी गरेको आरोपमा मोरङको विराटनगर–१६ का २७ वर्षीया अभिनन्द कुमार यादव पक्राउ परेका हुन।

प्रहरीका अनुसार, ०८० फागुन ६ गते उनले ह्वाट्सएप मार्फत मञ्जुदेवी शारदालाई फोन गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ’ भनी डरत्रास देखाउँदै पैसा मागेका थिए। घटनामा छोरा जस्तो देखिने व्यक्तिलाई कुटपिट गरेको भिडियो र रोएको आवाजको कल पनि पठाइएको थियो। यसरी उनले १२ लाख ८० हजार रुपैया विभिन्न बैंक खातामा जम्मा गर्न लगाएको खुलेको छ।

उनले ०८० फागुन ८ मा राजकुमारी देवीलाई ‘तपाईंको छोरा मलेसियामा मुद्दामा फसेको छ’ भनी हिन्दी भाषामा धम्की दिएका थिए। उजुरी अनुसार उक्त घट्नामा यादवले ६० हजार रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएका थिए।

अर्को घटनामा ‘तिम्रो छोराले सानो बच्चालाई अपहरण गरेको अवस्थामा फेला परेको छ’ भन्दै डर देखाई मुकेशकुमार सिंहसँग १ लाख जम्मा गर्न लगाएका थिए।

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरी टोलीले ०८२ कात्तिक ८ गते विहान साढे १ बजे उनलाई घरबाटै पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई कात्तिक ९ गते जिल्ला अदालत सप्तरीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

डीएसपी डम्बर बहादुर पुरीले अनलाइन मार्फत फोन गरी धम्क्याउँदै पैसा माग्ने कार्य बढ्दै गएको बताए। उनले नागरिकहरुलाई अनलाइनमा आएका अपरिचित कल र सन्देशमा पैसा नहाल्न, यस्ता घटना देखेमा तुरुन्त नजिकैको प्रहरी चौकीमा जानकारी गराउन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट