सुत्केरीको मृत्युपछि ललितपुरको किस्ट अस्पतालमा तोडफोडः प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौँ — ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको घटनापछि आइतबार अपराह्न तनावपूर्ण स्थिति सिर्जना भएको छ। मृतक २५ वर्षीया मिनाश्री राईका आफन्त र स्थानीयले अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै तोडफोड र प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको छ।
खोटाङकी मिनाश्री राईको सुत्केरी भएपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सुत्केरीको मृत्यु कात्तिक ७ गते भए पनि घटनापछि उत्पन्न आक्रोश आज झन् तीव्र बनेको हो। अस्पताल परिसरमा भीड जम्मा भएर ढुंगामुढा र तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरी भीड तितरबितर पारेको छ।
एसपी चक्रराज जोशीका अनुसार झन्डै साढे २ सय जना मानिसहरू अस्पतालको मुख्य प्रवेशद्वारमा जम्मा भएर तोडफोडमा उत्रिएका थिए। ‘अस्पतालका सिसा, गेट र साइनबोर्डमा ढुंगामुढा भयो। भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गर्नुप¥यो,’– उनले भने।
प्रहरीले अश्रुग्यास प्रहारपछि अस्पताल परिसर खाली गराएको छ भने भिडलाई तितरबितर पार्न खोलातर्फ धपाईएको छ। घटनास्थलमा अहिले करिब दुई सय सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार थप झडप हुन नदिन अस्पताल क्षेत्र पूर्ण सुरक्षा घेरामा राखिएको छ।
मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरवाही गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार मिनाश्री सुत्केरी भएपछि लगातार रक्तस्राव भए पनि अस्पतालले समयमै चिकित्सक बोलाएन र पर्याप्त उपचारको प्रयास भएन। ‘बाँच्न सक्थिन्, तर लापरवाहीका कारण गइन्,’ मृतकका आफन्तले भने।
अस्पताल प्रशासनले भने मिनाश्रीलाई बचाउन सक्ने सम्पूर्ण प्रयास गरिएको दाबी गरेको छ। अहिले अस्पताल वरिपरि उच्च सतर्कता अपनाइएको छ। प्रहरीले भिड नियन्त्रणपछि अवस्था सामान्य बनाइएको जनाएको छ। तर स्थानीयले अस्पतालको जिम्मेवारीबारे स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
