मादक पदार्थ सेवन गरेका बखतसिंहले गोली प्रहार गरी आफ्नै छोराको हत्या गरे
विराटनगर— पाँचथरको मिक्लाजुङ–८ भदौरमा आइतबार एक बुबाले गोली हानेर आफ्नै छोराको ज्यान लिएका छन्। मादक पदार्थ सेवन गरेका ५२ वर्षीय बखतसिंह सिंगक लिम्बूले भरुवा बन्दुक प्रयोग गरी १७ वर्षीय छोरा सफल सिंगकलाई गोली प्रहार गरेर हत्या गरेका हुन।
सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। प्रहरीका अनुसार लिम्बूले आइतबार अपराह्न घर पछाडिको बारीमा छोरा सफलमाथि गोली चलाएका थिए। गोली शरीरका विभिन्न भागमा लागेकोले उनलाई तत्कालै उद्धार गर्न नपाई घटनास्थलमै ज्यान गएको हो।
स्थानीयका अनुसार, बखतसिंहले विगत केही समयदेखि अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका थिए र परिवारमा सानातिना विवाद पनि हुने गरेको थियो। घटनाको समयमा पनि उनी नशामा थिए भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर बखतसिंहलाई प्रयोग गरिएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। प्रहरीले हत्या कसुर अन्तर्गत मुद्दा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
मृतक सफलको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
