मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
काठमाडौँ— युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्ताको राजनीतिक तथा सामाजिक जीवन विवादास्पद र बहुपक्षीय आलोचनाको केन्द्रमा छ। उनले आफ्नो सामाजिक योगदानका रुपमा परिचित ‘हन्ड्रेड ग्रुप’ मार्फत विभिन्न परोपकारी कामहरु गरेको दाबी गरे पनि विगतका घटनाहरुले उनको छवि विवादग्रस्त बनाएको छ।
गुप्ताले कोभिड महामारीको समयमा राजधानी काठमाडौँमा मजदुर र गरीबलाई निःशुल्क खाना खुवाउने अभियान चलाएका थिए। साथै ‘प्रोजेक्ट शिक्षा’ मार्फत काठमाडौंमा ११० जना विद्यार्थीलाई खाने, बस्ने र पढ्ने सुविधा उपलब्ध गराएको र कपडा तथा किताब बैंक संचालन गरेको उनको समूहको दाबी छ।
उनले अमेरिकी युथ काउन्सिलसँग सहकार्य गर्दै विभिन्न फन्डिङ प्रोजेक्टमा पनि सहभागी भएको जानकारी सार्वजनिक छ। तर, सामाजिक र परोपकारी गतिविधिका बाहेक गुप्ताको विगत राजनीतिक र सडक प्रदर्शनमा पनि सक्रिय छ।
चार वर्षअघि (सन् २०२१ मा) वैधानिक रुपमा दर्ता नभएको प्रगतिशील युवा क्लबले देउसी भैलोको आयोजना गरेको थियो। गुप्ताको हन्ड्रेड ग्रुप पनि क्लवसँग मिसिएर देउसी भैलोमा सहभागि भयो। पैसा संकलनको काम उनैले गरे। करिव २ लाख रुपैयाँ भन्दा वढि पैसा संकलन भएपछि बब्लु गुप्ता साथीहरुलाई नै छोडेर फरार भए। त्यसपछि उनले क्लवका पदाधिकारी र सदस्यहरुको फोन समेत नउठाएको सदस्य एनपी जोशी वताउँछन्। त्यसपछि उनले धम्की दिन थाले। आजित भएका क्लवका पदाधिकारीले त्यसपछि उनलाई सम्पर्क गर्नै छोड्।
सिरहाको लहानका गुप्ता, २०७७ साल असोजमा नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै प्रदर्शन गर्दा प्रहरीद्धारा कुटिएका थिए। बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा कुटपिट भएपछि अनुसन्धान समिति समेत बनेको थियो। त्यस यता गुप्ता पसेवर रुपमा सडक प्रदर्शन देखिन थाले।
०७८ मंसिरमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा भएको सडक प्रदर्शनमा पनि उनको भुमिका उल्लेख्य रह्यो। त्यसवेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका थिए। सर्वोच्चले ओलीको निर्णय खारेज गर्दै परमादेश जारी गरेर संसद पुनर्स्थापना गरिदियो। संसद पुनर्स्थापना गरीदिए वापत कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जबराले भाग खोजेको आरोप लाग्यो।
यो आरोप पछि गएर पुष्टि पनि भयो। प्रधानमन्त्री देउवाले सांसदनै नभएका गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए। हमाल नातामा जबराका जेठान हुन। यो प्रकरण वाहिर आएपछि नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग ग¥यो। र आन्दोलन सुरु गर्यो। बारका तत्कालीन अध्यक्षले चण्डेश्वर श्रेष्ठले जबरालाई विचौलियाको नाइके भएको लगायतका आरोप समेत लगाए।
यता, बारको आन्दोलन विरुद्ध राजावादी अधिवक्ता स्वागत नेपालको टिमले पनि प्रदर्शन गर्यो। प्रदर्शनको नेतृत्व गर्ने उनै बब्लु गुप्ता थिए। यो आन्दोनलाई बारका पदाधिकारीहरुले ‘प्रधानन्यायाधीश जबराले सडकमा उतारेका भिजिलान्ते र भाडाका टट्टु’ भएको आरोप लगाए। गुप्ताले त्यसवेला पैसा लिएर सडकमा मोर्चा सम्हालेको आरोप लागेको थियो।
त्यस्तै तीन वर्षअघि मिटरब्याज पीडितहरुले माइतीघरमा आयोजित कार्यक्रममा समेत गुप्ताको टिम पुगेको थियो। राप्रपा नेता ज्ञानेन्द्र बहादुर शाहीलाई लिएर माइतीघर पुगेका गुप्ताको टिमलाई मिटरव्याज पीडितले लखेटेका थिए। गुप्ताको विगत राम्रो नभएको भन्दै पीडितहरुले शाही र गुप्ता दुवैलाई आन्दोलनबाट खेदेका थिए।
सामाजिक कार्य र परोपकारका नाममा सञ्चालन भएका कार्यक्रमको छायामा रहेका यी विवादास्पद घटनाले गुप्ताको छवि विवादित बनाएको छ। राजनीतिमा प्रवेशसँगै उनका विगतका यी गतिविधिहरु आलोचनाको केन्द्रबिन्दु बनेका छन्। उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग पनि नजिक छन्। वर्तमान ऊर्जामन्त्री घिसिङसँग २०७७ सालबाटै नजिक रहेका गुप्ता मन्त्री हुनुमा घिसिङकै जोडबल रहेको समेत बताइन्छ।

यो पनि,
