सप्तरीमा स्रोत नखुलेको २३ लाखसहित दुईजना पक्राउ, इलेक्ट्रोनिक उपकरण पनि बरामद

राजविराज — सप्तरीमा प्रहरीले स्रोत नखुलेको करिव २३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने झापाको दमकका २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाईं छ।

सगरमाथा राजमार्ग हुँदै कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको गाडी सुरुङ्गा नगरपालिका–२ मा चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। राति करिब ९ बजे शंका लागेर चेक गर्दा चेक गर्ने क्रममा गाडीमा २३ लाख रुपैयाँ सहित विभिन्न इलेक्ट्रोनिक उपकरण बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

बरामद उपकरणमा साइकल पम्प १ थान, इलेक्ट्रिक रिक्साको मोटर ३ थान, इलेक्ट्रिक साइकलको ब्याट्री ३१ थान, इलेक्ट्रिक स्कुटरको ब्याट्री ३ थान, ब्याट्री चार्जर ७ थान, र ब्याट्री टेस्टर १ थान रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर पूर्णकुमार राईको नेतृत्वमा भएको टोलीले गाडी र सामानको स्रोतबारे थप सोधपुछ गरिरहेको छ। पक्राउ परेका दुवैले अहिलेसम्म रकमको स्रोत खुलाउन सकेका छैनन्। तर, आफुहरु विभिन्न साधनको ब्याट्री आपुर्ति गर्ने ब्यापारी भएको उनीहरुको भनाई छ।

प्रहरीका अनुसार, बरामद रकम र उपकरणको वास्तविक स्रोत पत्ता लगाउने प्रयास भइरहेको छ। आवश्यक अनुसन्धानपछि उनीहरूविरुद्ध कानूनी कारबाही अघि बढाइने एसपी गौतम केसीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट