१३ वर्षीया अंशु गौतमको रहस्यमय मृत्युः बलात्कारपछि हत्याको शंका, १ महिनासम्म निष्कर्षमा पुगेन अनुसन्धान
विराटनगर— मोरङको लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको रहस्यमय मृत्यु भएको एक महिना वितिसकेको छ। तर, प्रहरीले अहिलेसम्म आरोपीलाई पक्राउ गर्न सकेको छैन।
असोज २१ गते साँझ घर नजिकै पिङ खेल्न गएकी अंशुलाई साढे ५ बजेसम्म छिमेकीहरूले देखेका थिए। त्यसपछि उनको कुनै पत्तो नपाएपछि परिवारले प्रहरीमा निवेदन दिएका थिए। सामाजिक सञ्जाल र स्थानीय सहयोगबाट खोजी भए पनि उनी १८ दिनसम्म बेपत्ता रहिन्।
बेपत्ता भएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी वनभित्र सडेको र क्षतविक्षत शव फेला प¥यो। शवको अवस्था भयङ्कर थियो — शरीर र टाउको छुट्टिएको र कपडा नभएको अवस्थामा भेटिएको थियो। घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा परिवारले शवको पहिचान गरे, र डीएनए परीक्षणले पनि शव अंशुकै भएको पुष्टि गर्यो।
पोस्टमार्टम पश्चात शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। परिवारले ‘न्याय नपाएसम्म शव नबुझ्ने’ अडान लिएका छन्। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश र जिल्ला प्रहरीको संयुक्त टोली घटनाको अनुसन्धानमा खटिएको छ।
तर, शव अत्यधिक सडिसकेको र घटनाको प्रकृतिले अनुसन्धान जटिल भएको छ। एसपी कटवालले भनिन्–‘बलात्कारको प्रमाण मेडिकल्ली पुष्टि गर्ने अवस्था छैन, तर हामी मोबाइल सिग्नल, प्रविधि परीक्षण र स्थानीय सोधपुछमार्फत सत्यतिर पुग्ने प्रयासमा छौं।’
प्रारम्भिक अनुसन्धानका क्रममा बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ। शवको टाउको र शरीर छुट्टिनुले हतियारको प्रयोग वा जंगली जनावरको आक्रमण भएको शंका पनि प्रहरीले व्यक्त गरेको छ। अंशुले मोबाइल बोक्ने नगरेकाले गतिविधि ट्रयाक गर्न कठिन भएको छ।
सोधपुछका क्रममा झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको जानकारी प्रहरीले दिएको छ। अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्थिन्। प्रहरी स्रोतका अनुसार बेपत्ता हुनु अघि करिब १२–१३ दिनअघि अंशुको पहिलो महिनावारी सुरु भएको थियो, जसले मानसिक दबाब पनि बढाएको हुन सक्ने अनुमान गरिएको छ।
स्थानीयहरूले घटनालाई संवेदनशील र जटिल मान्दै तत्काल न्यायको माग गरेका छन्। यो घट्नाले उनीहरुलाई स्तब्ध पारेको छ। लेटाङ नगरपालिकाकी उप–मेयर कृष्णकुमारी पोखरेल निरौलाले भनिन्— ‘अपराधी भेटिएन भने भोलि उसको मनोबल बढ्छ। ढिलासुस्ती भयो भने यो निर्मला पन्त प्रकरण जस्तै बन्न सक्छ।’ स्थानीय बासिन्दा र शिक्षकहरू पनि छोरीको हत्या भएको स्पष्ट देखिएको भन्दै दोषीको पहिचान र तत्काल न्यायको मागमा छन्।
एसपी कटवालले भने घटना जटिल भएपनि असम्भव नभएको वताइन। डीएसपीको कमान्डमा टोलीले सिस्टमेटिक ढंगले काम गरिरहेको र अपराधी चाँडै पत्ता लाग्नेमा विश्वस्त रहेको उनको भनाई छ।
अंशुको मृत्यु बलात्कार र हिंसात्मक आक्रमणसँग जोडिएको आशंका प्रबल छ। तर, प्रमाणको कमी, घटनास्थलको जटिलता र ढिलो खोजतलासले अनुसन्धान अल्झिएको छ। परिवारले न्याय नपाएसम्म शव बुझ्दैन भनेका छन् भने स्थानीय समुदायले ‘अंशुका लागि न्याय नआएसम्म सडकमा उत्रिने’ चेतावनी दिएका छन्।

लोकप्रिय
गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्यभन्दा बलियो ‘चलखेल’: २४ घण्टा पनि टिकेन मेसु हटाएर निमित्त दिने निर्णय

