बानेश्वर प्रहरी वृत्तमा आगो लगाउने र हतियार लुट्ने सिरहाका सिद्धिकी पक्राउ, डेरामा २ सेल अश्रुग्यास

काठमाडौँ— जेन–जी आन्दोलनका क्रममा बानेश्वर प्रहरी वृत्तमा भएको आगजनी र हतियार लुटपाट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–४ का २२ वर्षीय शेख सिद्धिकी छन्।

प्रहरीका अनुसार सिद्धिकी हाल काठमाडौं महानगरपालिका–३१, आलोकनगरमा डेरा गरी बस्दै आएका थिए। भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरमा तोडफोड, आगजनी र लुटपाटमा उनले प्रत्यक्ष संलग्नता जनाएका थिए। प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोकै आधारमा उनलाई पहिचान गरी नियन्त्रणमा लिएको हो।

सिद्धिकीको आलोकनगरस्थित डेरामा प्रहरीले खानतलासी गर्दा २ सेल अश्रुग्यास पनि बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती अश्रुग्यासका सेल आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सिद्धिकीमाथि ‘आपराधिक उपद्रव गर्न नहुने’ र ‘हातहतियार खरखजाना’ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। ‘उनले जेन–जी आन्दोलनका नाममा गरेको तोडफोड, आगजनी र हतियार लुटपाट गम्भीर आपराधिक गतिविधि हो। यसबारे जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान सुरु गरिएको छ,’ एसपी भट्टराईले भने।

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा राजधानीमा व्यापक तोडफोड, आगजनी र प्रहरीमाथि आक्रमणका घटनाहरू भएका थिए। बानेश्वर वृत्तमा भएको आगजनीले सरकारी कागजात र उपकरण जलेर नष्ट भएका थिए। प्रहरीले यसअघि पनि त्यही प्रकरणमा संलग्न अन्य केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ।

स्रोतका अनुसार सिद्धिकी जेन–जी आन्दोलनका क्रममा काठमाडौं आएका थिए र आन्दोलनपछि लुकीछिपी विभिन्न स्थानमा बस्दै आएका थिए। प्रहरीले उनीसँग जोडिएका अन्य सहयोगीहरूको पनि खोजी तीव्र पारेको छ।

जेन–जी आन्दोलन, बानेश्वर प्रहरी वृत्त, आगजनी, हतियार लुटपाट, शेख सिद्धिकी, सिराहा, आलोकनगर, अश्रुग्यास, काठमाडौं प्रहरी, पवनकुमार भट्टराई, आपराधिक उपद्रव, आन्दोलन अनुसन्धान, राजधानी हिंसा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *