सिरहा कारागारभित्र कैदीमाथि निर्मम कुटपिट, प्रशासनले घटना लुकाउन खोजेको आरोप
लहान— सिरहा सदरमुकामस्थित सिरहा कारागारभित्र एक कैदीमाथि भएको निर्मम कुटपिटको घटनाले कारागार प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। चोरी मुद्दामा थुनिएका सिरहाकै मिर्चैया नगरपालिका–८ का करिब ३० वर्षीय प्रमेश्वर सदा आइतबार राति कारागारकै भित्र कुटपिटमा परेका हुन्।
घटनाबारे कारागार प्रशासनले सुरुवातमा मौनता अपनाए पनि सोमबार अपराह्न गम्भीर घाइते अवस्थाका प्रमेश्वर सदालाई सिरहा प्रादेशिक अस्पताल पुर्याएको थियो। यही प्रकरणबाट घट्ना सार्वजनिक भयो। अस्पतालमा उनलाई इमर्जेन्सी वार्डमा प्रहरीको बाक्लो सुरक्षा बीच उपचार गरिँदै छ।
अस्पताल स्रोतका अनुसार सदामाथि कारागारभित्र पाइप र भाटाले निर्घात प्रहार गरिएको छ। उनको टाउको, पिठ्युँ, हात, खुट्टा र संवेदनशील अंगमा निलडाम र चोटपटक देखिएका छन्। चिकित्सकहरूले उनको अवस्था नाजुक रहेको जनाएका छन्।
एक चिकित्सकले भने, ‘कारागारभित्र यस्तो घटना बारम्बार हुन्छ, तर प्रशासनले प्रायः ढाकछोप गर्न खोज्छ। यो घटनामा पनि घाइतेलाई ढिलो ल्याइएको छ, जसले अवस्था झन् जटिल बनायो।’ घटनाबारे कारागार प्रशासन र प्रहरी दुबैको प्रतिक्रिया विरोधाभासी देखिएको छ।
सिरहा प्रहरीका डीएसपी रमेशबहादुर पाल ‘कारागारभित्रको घट्ना हामीलाई त्यति जानकारी छैन’ भन्दै पन्सिएका छन्। उता, जेलर सुबोध महतोले सुरुमा घटनाबारे बताउनै अस्वीकार गरे। पत्रकारहरूले सोध्दा उनले घटना सामान्य भएको दाबी गर्दै बाहिर नल्याउन समेत आग्रह गरे। ‘सामान्य घटना हो, मिडियामा आएपछि ठूलो मुद्दा बन्छ। कृपया बाहिर नल्याइदिनुहोस्,’ महतोको भनाइ थियो।
तर, अस्पतालमा प्रमेश्वर सदा गम्भीर घाइते अवस्थामा भेटिनु र शरीरभर चोटपटक देखिनुबाट घटना सामान्य नभएको प्रष्ट भएको छ। कारागारभित्र कुटपिट कसले र किन ग¥यो भन्नेबारे प्रशासन मौन छ।
यद्यपी, सिरहा कारागारमा यसअघि पनि कैदीमाथि कुटपिट र दुव्र्यवहारका घटना सार्वजनिक भइसकेका छन्। मानवअधिकारकर्मीहरूले बारम्बार कारागारभित्र पारदर्शिता र नियमित स्वास्थ्य निरीक्षणको माग गर्दै आएका छन्। तर, प्रशासनले घटनालाई भित्रै सीमित राख्ने प्रवृत्ति जारी राखेको देखिन्छ।
घाइते कैदीलाई अस्पताल ल्याउन ढिलो गर्नु, सञ्चारकर्मीलाई भेट्न नदिनु र घटनालाई सामान्य बनाउन खोज्नु, यी सबैले कारागारभित्रका अनुशासन र मानवअधिकारको अवस्था उजागर गरेको छ।
स्थानीयवासी र मानवअधिकारकर्मीहरूले तुरुन्त घटना छानबिन गर्न र दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। ‘राज्यकै नियन्त्रणमा रहेका व्यक्तिमाथि हिंसा हुनु गम्भीर अपराध हो। यस्तो घटनालाई ‘सामान्य’ भनेर पन्सिन पाइँदैन,’ उनीहरूले भनेका छन्।
प्रमेश्वर सदाको उपचार जारी छ। उनको अवस्था स्थिर भए पनि, कारागारभित्रको ‘गोप्य कुटपिट संस्कृति’ले न्याय प्रणाली र मानवअधिकारप्रतिको सरकारी प्रतिबद्धतामाथि गहिरो प्रश्न उठाएको छ। यो घटना कुनै एक कैदीमाथिको आक्रमण मात्र होइन, राज्यका संरचनाभित्र गढिएको निर्दयी प्रशासनिक सोचको द्योतक हो।
