धनुषामा गहनाका लागि ६२ वर्षीया महिलाको हत्या आरोपमा छिमेकी महिला पक्राउ, औला कटेको देखेपछि खुल्यो रहस्य

जनकपुर— धनुषाको हंसपुर नगरपालिका–७, नौवाखोर पर्साहीकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या आरोपमा प्रहरीले उनकै छिमेकी महिलालाई पक्राउ गरेको छ। दासको सोमबार साँझ खेतमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरिएको थियो।

उनको शव घरदेखि करिब पाँच सय मिटर टाढा धानखेतमा भेटिएको हो। स्थानीय विन्देश्वर दासकी श्रीमती चन्द्रकलामाथि अज्ञात व्यक्तिले साँझ करिब ६ बजेतिर खेतमा आक्रमण गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलको प्रकृति हेर्दा मृतक र आक्रमणकारीबीच केही बेरसम्म घम्साघम्सी भएको देखिन्छ। प्रहरीका अनुसार, खेतमा लछारपछार, जुत्ताका छाप र संघर्षका चिन्हहरू फेला परेका छन्।

हत्या भएको केही बेरमै गाउँभर घट्ना बारे हल्ला चलेको थियो। त्यही बेला खेतमा घाँस काट्दै गरेकी स्थानीय महिलामध्ये एकजनाको औला काटिएको देखेपछि गाउँलेहरूले आशंका गरे। ती महिला ‘घाँस काट्दा औला काटियो’ भन्दै गाउँमा आइपुगेकी थिइन्। तर, पछि उनको घरमा मृतक चन्द्रकलाका सुनचाँदीका गरगहना भेटिएपछि शंका प्रष्ट प्रमाणमा परिणत भयो।

स्थानीयहरूले ति महिलालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरे। त्यसपछि प्रहरीको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी गणेश बमले जानकारी दिए। स्थानीयका अनुसार, पक्राउ परेकी महिला बिहरिया मण्डलकी श्रीमती हुन्। उनी श्रीमानसहित भाग्ने क्रममा पक्राउ परेको खुलेको छ।

प्रहरीले भने पक्राउ महिलाको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन। ‘हत्या र लुटपाट दुवै कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी बमले भने, ‘घटनास्थलबाट प्रमाण संकलन गरिएको छ, र थप अनुसन्धान जारी छ।’

स्थानीयवासीका अनुसार, मृतक दास मिटरव्याज पीडित हुन। प्रहरीले पनि प्रारम्भिक अनुसन्धानमा सो पृष्ठभूमि पनि समेट्दै अनुसन्धान अगाडि बढाएको जनाएको छ। हत्या स्थलबाट मृतकका गरगहना लुटिएको र त्यसकै क्रममा प्रतिरोध गर्दा उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट