३३ वटा कुकुरका छाउरा फलामे पिँजडामा थुनेर राख्ने दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ– काठमाडौँको चौमतीमा फलामे पिँजडाभित्र ३३ वटा कुकुरका छाउरा अमानवीय रूपमा थुनेर राखिएको अवस्थामा भेटिएपछि प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। कुकुरका छाउरालाई पीडा हुने गरी बन्धक बनाइएको दृश्य देखेपछि प्रहरीले तत्काल उद्धार गरी भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू भारतको बिहार, पटना आलमगंजका १८ वर्षीय महमद गुड्डु र २८ वर्षीय महमद नासाद रहेका छन्। उनीहरू काठमाडौं–१५, चौमतीमा टहरा भाडामा लिएर बसेका थिए। स्वयम्भू प्रहरी वृत्तबाट खटिएको टोलीले टहराभित्र फलामे पिँजडामा अत्यन्तै अमानवीय अवस्थामा कुकुरका छाउरा थुनेर राखिएको फेला पारेको थियो।

प्रहरीले सवै छाउरा उद्धार गरी ‘टिम संकल्प नेपाल’ को जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिए। युवाहरूले कुकुरका छाउरा कहाँबाट ल्याएका हुन् भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक अनुमान अनुसार यी कुकुरका छाउराहरू अवैध व्यापार वा गैरकानूनी प्रजननको उद्देश्यले राखिएको हुनसक्ने प्रहरीले बताएको छ। दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएपछि काठमाडौँ जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसुर अन्तर्गत ५ दिन म्याद थप गरी विस्तृत अनुसन्धान जारी राखिएको एसपी भट्टराईले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट