सप्तरीमा कालोबजारीको २४० बोरा डीएपी मल र ट्रकसहित सहकारीका सञ्चालक पक्राउ

राजविराज– जिल्ला प्रहरी कार्यालय सप्तरीले सरकारबाट अनुदानमा प्राप्त डीएपी मल कालोबजारी गरेको आरोपमा जनता कृषि सहकारी संस्था लिमिटेडका संचालक मनोज कुमार यादवलाई पक्राउ गरेको छ।

यादवलाई ३० गते बेलुका करिब ७ बजे हनुमाननगर कंकालिनी नगरपालिका–३, पोर्ताहा चौकबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार, सरकारले किसानका लागि सहुलियत दरमा उपलब्ध गराएको रसायनिक मल कालोबजारी गर्दै गरेको आरोपमा यादव पक्राउ परेका हुन।

यो घट्नाको विषयमा प्रहरीले विशेष सूचना पाएको थियो। सूचनाका आधारमा प्रहरीले निरीक्षण गर्दा ना ६ ख ६२८४ नम्बरको रातो ट्रक र गोदाममा गरी ५० किलोका २४० बोरा डीएपी मल बरामद भएको थियो।

प्रहरीले मलको बारेमा सोधपुछ गर्दा, संचालक मनोज कुमार यादवले आधिकारिक कागजात देखाउन नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यसपछि उनलाई नियन्त्रणमा लिएर ट्रक र मलसहित कालोबजारीको अनुसन्धान सुरु गरिएको छ।

डीएसपी डम्बर बहादुर पुरीले भने–‘कालोबजारी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। अदालतको आदेशअनुसार उनलाई ७ दिनको म्याद थप गरिएको छ।’

नेपाल सरकारले किसानको लागि अनुदानमा मल उपलब्ध गराउँदै आएको छ। तर, केही व्यक्तिहरू मिलेर सरकारी अनुदानको मललाई कालोबजारी गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट