बारामा पानी उद्योगका कर्मचारीको भित्रै घाँटी रेटेर हत्या

बारा — बाराको प्रसौनी गाउँपालिका–६ भलुहीस्थित एक पानी उद्योगभित्र एक कर्मचारीको रहस्यमय र निर्मम हत्या भएको छ।

उद्योगमा काम गर्दै आएका ४२ वर्षीय रामकिशोर सिंह घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन्। सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी बासिन्दा थिए र उनी लामो समयदेखि उद्योगमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजय पण्डितका अनुसार सिंहको शव बिहान करिब ८ बजे फेला परेको थियो। घटनास्थल पुगेको प्रहरीले ‘घाँटी रेटिएको अवस्थामा शव फेला परेको’ जानकारी दिएको छ। अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढाइएको पण्डितले बताए।

उद्योगभित्रै कामदारको हत्या भएको यस घटनालाई प्रहरीले पूर्वनियोजित हो कि अन्य कुनै विवादको परिणाम हो? भन्ने कोणबाट अनुसन्धान गरिरहेको छ। उद्योग परिसरमा बस्दै आएका अन्य कर्मचारीहरूसँग समेत सोधपुछ सुरु गरिएको छ।

शान्त वातावरण रहेको क्षेत्रमा यस्तो विभत्स हत्या हुँदा स्थानीयहरू झस्किएका छन्। प्रहरीले घटना कसरी, कहिले र किन भयो भन्नेबारे सम्पूर्ण पृष्ठभूमि खोतल्ने काम गरिरहेको छ भने सम्भावित अभियुक्तको पहिचान गर्न अनुसन्धान तीव्र पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट