जनकपुरमा २७ वर्षीय श्रीमतीको हत्या आरोपमा योजना आयोगका कर्मचारी र उनका बुबा पक्राउ
जनकपुर– जनकपुरधाम–४ कटैयाचौरीमा बिहीबार राति २७ वर्षीया रोशनी झा मृत फेला परेपछि प्रहरीले हत्या आशंकामा अनुशन्धानका लागि उनका पति र ससुरालाई पक्राउ गरेको छ।
रोशनीले पासो लगाएर झुण्डिएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएको थियो। तर माइती पक्षले भने रोशनीको योजनाबद्ध हत्या गरिएको दाबी गर्दै घटनाको वास्तविकता सुरुदेखिनै शंकास्पद भएको बताएका छन्।
धनुषाको नगराइन नगरपालिका–२ जटहीकी रोशनीको चार वर्षअघि सामाजिक परम्परा अनुसार कटैयाचौरीका प्रशान्त मिश्रसँग विवाह भएको थियो। प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगमा कार्यरत कर्मचारी हुन्, जसका कारण पनि घटनाले थप सार्वजनिक ध्यान खिचेको छ।
मृतकका परिवारले रोशनीको मृत्युको परिस्थितिबारे शंका व्यक्त गर्दै तत्कालीन घटनाक्रम घरका सदस्यले सुनाएअनुसार योजनावद्ध हत्या जस्तो देखिएको बताएका छन्। उनीहरूका अनुसार रोशनीको घाँटीमा डाम देखिएको छ भने उनका केही कपडा समेत जलेको अवस्थामा भेटिएका छन्।
यसले घटनालाई आत्महत्याभन्दा पनि ‘प्रमाण मेट्ने प्रयाससहितको हत्या’ जस्तो देखिने उनीहरूको दाबी छ। रोशनीका मामा प्रदीप चौधरीले भान्जीको मृत्यु स्वभाविक तरिकाले नभई योजनाबद्ध रूपमा गराइएको जस्तो देखिएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन्। ‘हामीलाई भान्जीको हत्या भएको शंका छ। प्रमाण नष्ट गर्न उनका कपडासमेत जलाइएको छ। यसैले सत्यतथ्य बाहिर आउनैपर्छ।’– उनले भने।
यस्तै, माइती पक्षले घटना शंकास्पद भएको भन्दै रोशनीका श्रीमान प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा औपचारिक उजुरी दर्ता गरेका छन्। उजुरीपछि प्रहरीले आइतबार दुवै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले माइती पक्षले ‘आफूहरू असुरक्षित भएको’ वताएपछि उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। उनले मृतकको घाँटीमा डाम देखिएको प्रारम्भिक विवरण उल्लेख गर्दै, पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्या हो कि आत्महत्या भन्ने स्पष्ट हुने वताए।
हाल रोशनी झाको मृत्युको विषयले स्थानीय क्षेत्रमा ठूलो चर्चा र तनाव समेत पैदा गरेको छ। घरका सदस्यले सुनाएको घटना–विवरण र माइती पक्षले उठाएको प्रश्नबीच देखिएको फरकले घटनालाई झन् पेचिलो बनाएको छ।
पोस्टमार्टम रिपोर्ट र प्रहरीले अघि बढाइरहेको अनुसन्धानले मात्र घटनाको वास्तविकता उजागर गर्ने विश्वास परिवार पक्षले राखेको छ। अहिले दुवै पक्षका आरोप–प्रत्यारोपबीच रोशनीको मृत्यु रहस्यमय बनेको छ भने प्रहरी सत्यतथ्यको खोजीमा जुटेको छ।

