सप्तरीमा प्रहरीको दोहोरो तराजुः १६ दिने कैदी पक्राउ, पुजारी हत्या आरोपित अध्यक्ष खुलेआम सत्तामा !

राजविराज— सप्तरी प्रहरीले पछिल्ला ४८ घण्टामा दुई फरक–फरक घटनामा तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। चोरी मुद्दामा सजाय तोकिएका एक जनासहित नकबजनी तथा चोरी मुद्दामा कैद र जरिवाना भोग्न बाँकी रहेका दुई फरार व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।

यो कृयाशिलताले प्रहरीको ‘कानुन कार्यान्वयन क्षमता’ देखाईरहेको छ। तर, यो सक्रियता राजनीतिक पहुँच भएका अभियुक्त सम्म पुग्न नसक्दा भने प्रहरीमाथि ‘चयनात्मक न्याय’ को आरोप लाग्न थालेको छ।

प्रहरीले मंसिर १५ गते चोरी मुद्दामा १६ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी अशोमलाल मण्डललाई राजगढ गाउँपालिका–३ बाट पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनका क्रममा निरन्तर खोजतलास गर्दा उनी लुकेर बसेको ठाँउ पत्ता लागेर सोही दिन अदालतमा बुझाइएको जानकारी प्रहरीले दिएको छ।

यसअघि, मंसिर ११ गते जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबर्साइनको संयुक्त टोलीले नकबजनी तथा चोरी मुद्दामा कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीहरु सितल मण्डल र राजन कुमार साहलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो। दुवै जना लामो समयदेखि गाउँमा खुलेआम हिडडुल गरे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन।

यसैबीच प्रहरी प्रशासनमाथि उठेको सबैभन्दा गम्भीर प्रश्न भनेको ‘पहुंच नभएका अभियुक्तमात्रै पक्राउ पर्नु’ हो। राजनीतिक हैसियत वा पहुँच भएका अभियुक्त प्रहरीको रडारमै नपरेको आरोप अहिले चर्चाको विषय वनेको छ। पछिल्ला घट्नाहरुलाई उदाहरण बनाएर प्रहरीले आफ्नो सक्रियता देखाउँदै गर्दा, शक्तिशाली व्यक्तिहरूको मुद्दा भने वर्षौंदेखि फाइलमै थन्किएको छ।

यस्ता पहुँचदार अभियुक्तमध्ये सबैभन्दा चर्चित नाम हो— राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल। उनी ०५५ सालमा सप्तरीको रामजानकी मन्दिरका पुजारी जन्त्रीदास बैरागीको हत्या मुद्दामा सात आरोपीमध्ये एक हुन्। अदालतले १५ वैशाख ०७८ मा नै मण्डलसहित सात जनामाथि पक्राउ पुर्जी जारी गरेको थियो। तर, स्थानीय तह चुनावमा उम्मेदवार वनेका उनी ३० वैशाख ०७९ मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए। गाउँको विकास योजनामा हस्ताक्षर गरेर ‘जनप्रतिनिधि’ बनेर बस्दा पनि प्रहरीले भने उनलाई पक्राउ गर्न सकेको छैन।

अदालतले १४ फागुन ०७९ मा मण्डललाई ‘पक्राउ परेपछि बाँकी कारबाही गर्ने’ आदेशसहित मुद्दा मुल्तबीमा राखेको छ। तर, प्रहरीले चार वर्षभित्र पाँच जना एसपी फेरिसक्दा पनि कसैले उनलाई पक्राउ गरेनन्। यसबीचमा राजेन्द्रप्रसाद धमला, अविनारायण काफ्ले, नरेन्द्रकुमार कार्की, गजुसिद्धि बज्राचार्यदेखि धकेन्द्र खतिवडा सम्म ‘अध्यक्ष मण्डल कहाँ छन?’ भन्ने प्रश्नमा मौन बसे। अहिले सप्तरीका एसपी रहेका गौतमकुमार केसीले ‘घट्ना बुझेर मात्र टिप्पणी गर्ने’ बताएका छन्।

मधेश प्रदेशका डिआइजी गोविन्द थपलियाले भने ‘पक्राउ पुर्जी जारी भएको व्यक्ति पक्राउ पर्ने’ औपचारिक प्रतिक्रिया दिएका छन्। पुजारी जन्त्रीदास बैरागीको हत्या मन्दिरको ११ बिघा जग्गाको धान र आम्दानीका विषयमा उत्पन्न विवादमा भएको अभियोगपत्रमा उल्लेख छ।

तत्कालीन बेल्हीचपेना गाविसका अध्यक्षसमेत रहेका गंगाराम मण्डल (ओमप्रकाश मण्डलका बुबा) माथि पुजारीले जग्गा, बाली लुटपाट र धम्कीसम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालयमा दिएका थिए। ‘गंगाराम राजविराजमा छन्। मिलापत्र गर्नुपर्छ, छलफल गर्न जाउँ’ भन्दै पुजारीलाई राजविराज बोलाइयो।

त्यसपछि पथरगाढा चौकी पुग्ने बहानामा उनलाई कोशी नहरनजिक पुर्याएर हत्या गरी शव फालिएको अभियोगपत्रमा उल्लेख छ। पुजारी बेपत्ता भएको १० दिनपछि मात्र अस्थिपञ्जर फेला परेको थियो। राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले परीक्षणसमेत गरिसकेको छ।

तर, यस्तो गम्भीर ‘हत्या’ मुद्दाका अभियुक्त खुलेआम सत्ता–सञ्चालन गरिरहेको बेला, प्रहरी भने सामान्य चोरी मुद्दाका गरिब–विपन्न नागरिकलाई मात्रै खोजी खोजी पक्राउ गर्दै काम देखाउन तल्लिन छ। अधिवक्ता रविन्द्र यादव भन्छन— ‘राजनीतिक दबाबमा प्रहरी मौन छ। संवेदनशील घटनामा समेत प्रहरी उदासीन छ। निष्पक्ष अनुसन्धानका लागि तत्काल पक्राउ जरूरी छ।’

यो घट्नापछि प्रहरी प्रशासनले ‘कसलाई किन’ लक्षित गर्छ भन्ने प्रश्न फेरि उठेको छ। फरार सामान्य नागरिक पक्राउ परिरहेका छन्। तर, तर ‘फरार अध्यक्ष’ शक्तिको आडमा सुरक्षित छन्। अध्यक्ष मण्डलले भने आफूसहित चार जना ०५५ सालमै २२ दिन थुनामा बसेर हाजिरी जमानीमा छुटिसकेको बताउँछन्। आरोपितमध्येका केही व्यक्ति हाजिर नभएकाले मुद्दा टुंगिन बाँकी रहेको उनको भनाई छ।

‘पक्राउ पुर्जी जारी भएको भन्ने थाहा छैन, म फरार छैन। दुई–चारजना हाजिर नभएकाले अदालतले मुद्दा मुल्तबीमा राखेको छ, टुंगिएको छैन। हाजिर हुनुपरे, म हाजिर भइहाल्छु।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट