जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने सीडीओ छवि रिजाल– आरोप दमनको, अनुसन्धान भ्रष्टाचारको

काठमाडौं– जेनजी आन्दोलनमा दमन गरेको आरोप खेपिरहेका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालमाथि भ्रष्टाचारसम्बन्धी अर्को गम्भीर अनुसन्धान पनि सुरु भएको खुलेको छ।

आन्दोलनमा गोली चलाउन आदेश दिएको विषयले उनी पहिले नै सार्वजनिक आलोचनाको भारी बोकिरहेका थिए। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको नयाँ विवरणले उनको विवादास्पद भूमिकालाई अझ गहिरो बनाएको छ।

२३ भदौमा जेनजी प्रदर्शन नियन्त्रणका क्रममा गोली चलाउन आदेश दिएका रिजालले सर्वोच्च अदालतमा पेस गरेको जवाफमा आफूले ‘राजनीतिक समन्वयका आधारमा गरिएको प्रशासनिक काम’ मात्र गरेको दाबी गरेका थिए। तर यो घटनाले उनीमाथि मानवअधिकार र शक्ति दुरुपयोग दुवै कोणबाट कठोर आलोचना बढाउँदै लग्यो।

आन्दोलनकारीमाथि गोली वर्षाएको यो ‘राजनीतिक आदेश’ को प्रसंग अझै विवादको केन्द्रमै छ। रिजालको प्रशासनिक भूमिकाको विवाद यतीमै सीमित छैन। काठमाडौंको सीडीओ बन्नुअघि उनी गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख थिए। त्यहाँ हुँदा उनले ‘पेशागत आचरण विपरित व्यवहार’ गरेको आरोप अहिले औपचारिक रूपमा छानबिनमा परिरहेको छ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको कार्यकालमा अध्यागमन कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल, तथा अन्य आकर्षक मानिने स्थानहरूमा कर्मचारी समायोजन–बढुवा मिलाउने नाममा रिजालले ‘अस्वाभाविक सक्रियता’ देखाएको आरोप अख्तियारको विवरणमा उल्लेख छ।

विशेष अदालतमा पठाइएको फाइलका अनुसार, गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी र अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको ‘सेटिङ, क्रियाकलाप र डायरीमा उल्लेखित असामान्य चलखेल’ को सन्दर्भमा समेत छानबिन भइरहेको छ।

यी सबै विवरणले प्रशासनिक क्षेत्रमा लामो समयदेखि चल्दै आएको गलत क्रियाकलापलाई देखाउँछ, जसमा रिजाल प्रमुख पात्र मध्येका एक भएको वताईन्छ। जेनजी आन्दोलनमा बलप्रयोग, राजनीतिक लाइन, गृह प्रशासनभित्रका विवादास्पद फाइल र अब अख्तियारको छानबिनले छवि रिजाल घेराबन्दीमा परेका छन्।

आन्दोलनमा गोली चलाउने आदेश दिएपछि आलोचनाको केन्द्रमा रहेका उनी अहिले भ्रष्टाचारसम्बन्धी आरोपले झन् गम्भीर संकटमा धकेलिएका छन्। यसबीच सरकारले उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेको छ। प्रभावकारी पदबाट अलग, तर विवाद र प्रश्नबाट एक इन्च पनि टाढा नभएको अवस्था यथावत् छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट