कोशी अस्पतालको शौचालयबाट ‘भेन्टिलेसनमार्फत’ भागेका थुनुवा अढाई महिनापछि घरमै समातिए
विराटनगर– मोरङमा प्रहरीले दुई फरार अभियुक्तलाई अढाई महिनापछि पुनः नियन्त्रणमा लिएको छ। विराटनगरस्थित कोशी अस्पतालको शौचालयबाट नाटकीय रूपमा भाग्न सफल भएका २० वर्षीय मोहम्मद राजु शुक्रबार बिहानको राति घरबाटै पक्राउ परेका छन्।
चोरी मुद्दामा पक्राउ परी मोरङ जिल्ला अदालतको आदेश अनुसार भदौ १७ गते देखि मोरङ कारागारमा वन्दी जीवन बिताइरहेका उनी असोज १२ गते अस्पतालको शौचालयबाट भागेका थिए।
साँझ पेट दुखेपछि उपचारका लागि अस्पताल भर्ना गरिएका राजु शौचालय लैजाने क्रममा प्रहरीलाई छलेर भेन्टिलेसनमार्फत भागेको जनाईएको थियो। राति करिब साढे ८ अस्पताल परिसरबाटै हराएका उनलाई प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।
शुक्रबार बिहान करिव साढे ४ बजे कटहरी–१ स्थित घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमै राखिएको र कानुनी कारबाही अघि बढाइने डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
यसैबीच, विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहबाट फरार भएका एक १९ वर्षीय बाल बिज्याइँकर्तालाई पनि प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनी कात्तिक २० गते दिउँसो करिव साढे ४ बजे सुधारगृहबाट भागेका थिए।
उनलाई विराटनगर–४, कञ्चनबारी नजिक लुकिरहेको अवस्थामा गएराति सवा १ बजे नियन्त्रणमा लिएको डीएसपी चुँडालले बताइन्।

