एकतर्फी प्रेम अस्वीकार गरी अर्कैसँग विवाह गर्दा झण्डै तहसनहस भयो युवतीको जीवन, प्रहरीले जोगाई दियो भविष्य

विराटनगर— एक युवकको प्रेम र विवाहको प्रस्ताव अस्वीकार गरी अर्कै युवकसँग विवाह गर्दा मोरङमा एक युवतीको झण्डै जीवन नै तहसनहस भएको छ। तर प्रहरीको चलाखी र सूक्ष्म अनुसन्धानले बर्बाद हुनै लागेको उनको पारिवारिक भविष्य जोगिएको छ।

यो घट्ना मोरङको धनपालथान गाउँपालिका–२ मा भएको हो। विवाह भएको १०–१२ दिनमै स्थानीय राजिव चौधरीलाई लागुऔषध कारोबारी बनाउने सुनियोजित षड्यन्त्र रचिएको थियो। तर, यो षडयन्त्रलाई प्रहरीले असफल वनाएको छ।

मंसिर २७ गते कामका लागि कर्सिया बजार पुगेका धनपालथान–२ का २९ वर्षीय चौधरीले सिटिजन बैंक अगाडि मोटरसाइकल पार्किङ गरेका थिए। यसैक्रममा प्रहरीले उनको मोटरसाइकल चेकजाँच गर्यो र इन्डिकेटरभित्र १३.३१० ग्राम ब्राउन सुगर फेला पा¥यो। मोटरसाइकल धनी भन्दै प्रहरीले चौधरीलाई नियन्त्रणमा लियो।

तर उनको हाउभाउ, बयान र अवस्थाले लागुऔषध कारोबारीको कुनै संकेत नदेखिएपछि प्रहरीको शंका गहिरियो। तनावका कारण चौधरीलाई हृदयघातजस्तै लक्षण देखिएपछि अस्पताल भर्ना गरियो र अनुसन्धानलाई फराकिलो बनाइयो। यही क्रममा यसअघि वैशाख २० गते चौधरीका ससुरा चन्द्रशेखर मण्डल पनि उस्तै तरिकाले लागुऔषध मुद्दामा फसेको प्रहरीले जानकारी पायो। ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनले सफाइ पाएका थिए।

गहिरो अनुसन्धानपछि प्रहरी विराटनगर–९ घोघापुल बस्ने २७ वर्षीय राजा धोबीसम्म पुग्यो, जसले सुराकी बनेर प्रहरीलाई झुटो सूचना दिएको स्वीकार गरे। धोबीको बयानले घटनाको जरो खोल्यो— मुख्य योजनाकार धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह रहेछन्।

उनले मन पराएकी युवतीले विवाह गर्न अस्वीकार गरेपछि पहिले उनका बुबा र पछि विवाहपछि ज्वाइँलाई लागुऔषध मुद्दामा फसाउने षड्यन्त्र बनेका थिए। सिंहले साथीहरू रोशन मण्डल र पारस मण्डललाई १० हजार रुपैयाँ दिने प्रलोभन दिई चौधरीको मोटरसाईकलमा ब्राउन सुगर लुकाउने र सुराकी पठाउने गरेका थिए।

प्रहरीलाई देखेर भागेका सिंहलाई करिब दुई किलोमिटर लखेटेर पक्राउ गरिएको थियो। १६–१७ घण्टासम्म चलेको निरन्तर अपरेसनपछि ‘फेक केस’को पर्दाफास गर्दै प्रहरीले निर्दोष चौधरीलाई मुक्त गरेको छ भने सिंहसहित चारै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ।

मोरङ प्रहरीका एसपी कबित कटवालका अनुसार यदि सतही अनुसन्धान मात्र गरिएको भए एक निर्दोष नागरिक जेल जाने अवस्था थियो, तर गहिरो छानबिनले षड्यन्त्रकारीलाई कानुनी दायरामा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट