बैंक कर्मचारी बन्धक बनाएर मोसो दलिएको काण्डमा सनसनीपूर्ण खुलासाः मिलापत्रको नाममा घटना दबाउन प्रहरीनै सक्रिय
राजविराज— ऋण असुलीका लागि फिल्डमा खटिएका ज्योति विकास बैंकका दुई कर्मचारीलाई ३ घण्टासम्म बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिईएको घट्नामा एकपछि अर्को खुलासा भईरहेका छन्। पछिल्लो पटक– कर्मचारीलाई बन्धक बनाईएको विषयमा बैंकले सहयोग माग्दा प्रहरी प्रशासनले समेत सहयोग नगरेको खुलेको छ।
यसअघि कर्मचारीलाई अमानवीय यातना दिने, कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र लट्ठीले कुटपिट गर्ने घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक रिताकुमारी चौधरीनै संलग्न रहेको खुलासा भएको थियो। उनी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएकी हुन।
घटनामा संलग्न भएको आरोपमा उपमेयरका श्रीमानसहित दुई जना पक्राउ परेका छन्। जाहेरीमा नाम उल्लेख भएका अन्य पाँच जना अझै फरार छन्। घटना मंसिर २४ गते बुधबार सप्तकोशी नगरपालिका–७ ओद्राहस्थित सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिको परिसरमा भएको हो। ऋणीसँग संवाद गरी ऋण नियमित गर्नेबारे छलफल गर्न बोलाइएका ज्योति विकास बैंकका कर्मचारीमाथि पहिल्यै योजनाबद्ध रूपमा आक्रमण गरिएको बैंकले जनाएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा कर्मचारीलाई मोसो दल्दै, जुत्ताको माला लगाउँदै र कुटपिट गर्दै गरिएको अमानवीय व्यवहार स्पष्ट देखिन्छ।
बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार बैंकका कर्मचारीलाई सामान्य छलफलको बहानामा फार्ममा बोलाइए पनि घटनाको षड्यन्त्र पहिल्यै तयार थियो। ‘कर्मचारीहरू पुग्नेबित्तिकै उनीहरूको मोबाइल फोन कब्जा गरियो। त्यसपछि बन्धक बनाएर करिब साढे २ बजेदेखि साढे ५ बजेसम्म लगातार शारीरिक र मानसिक यातना दिइयो,’ बरालले भने।
उनका अनुसार उपमेयर चौधरी आफैंले ‘भिडियो बनाऊ’ भन्दै कुटपिट गरेको दृश्य समेत सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ। ज्योति विकास बैंकको प्रादेशिक कार्यालय बर्दिवासका उप–प्रबन्धक सुमित श्रेष्ठ र रूपनी शाखाका कर्मचारी सविन श्रेष्ठ उक्त फार्ममा पुगेका थिए। तर संवादको साटो उपमेयर चौधरी, प्रालिका सेयरधनी र उनीहरूका आफन्तले घेराबन्दी गर्दै गालीगलौज, मोसो दल्ने, जुत्ताको माला लगाउने र लट्ठीले कुटपिट गरेको भिडियोमा देखिन्छ। फार्मका चार सेयरधनीमध्ये उपमेयरका श्रीमान सञ्जिवकुमार चौधरी पनि एक हुन्। प्रभुनारायण चौधरी, पञ्चदेव चौधरी र उमाकान्त चौधरी अन्य सेयरधनी हुन्।
बरालका अनुसार मेयर कृष्णप्रसाद ढकाल घटनापछि त्यहाँ पुगेका थिए। ‘मेयर आएर ‘यो काम गलत भयो’ भन्दै सम्झाए। तर त्यसपछि एकातर्फ ‘ज्यानको माया भए लिलामी सूचना बदर गर’ भन्ने दबाब सिर्जना गरियो भने अर्कोतर्फ घटनालाई दबाउन ‘सौहार्दपूर्ण वातावरणमा छलफल भएको’ भन्दै झूटो कागजमा हस्ताक्षर गराईयो’ बरालले थपे। कर्मचारी स्रोतका अनुसार घटनालाई सामसुम पार्न कर्मचारीबाटै ‘सौहाद्र्रपूर्ण छलफल’ भन्ने कागजमा हस्ताक्षर गराईयो। यो काम मेयर उपस्थित हुँदै बनेको कर्मचारीहरुले वताएका छन्।
बैंकले साँझ साढे ५ बजेपछि मात्रै घटनाबारे जानकारी पाएको थियो। त्यसपछि कर्मचारीको रिहाइका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रशासन कार्यालयमा पहल गर्दा पनि कुनै सहयोग नपाएको बैंकको दाबी छ। ‘प्रहरीले उल्टै ‘माहोल गरम छ’ भन्दै हामीलाई डर देखायो। घटनास्थलमा जानै नसक्ने अवस्था बनाइयो,’ बरालले भने। अन्ततः कर्मचारीको ज्यान जोगाउन बैंकको केन्द्रीय कार्यालयमार्फत धितो लिलामी प्रक्रिया स्थगन गरिएको सूचना (चलानी नं. ३९३८४३) जारी गरिएपछि मात्रै कर्मचारीलाई सम्झौता पत्रमा हस्ताक्षर गराएर छोडिएको बैंकले जनाएको छ।
त्यसै राति बैंकको टोली इलाका प्रहरी कार्यालय कञ्चनपुर पुगे पनि प्रहरीले सुरुदेखि नै घटनालाई मिलापत्रमा टुंग्याउने प्रयास गरेको आरोप बैंकको छ। जाहेरी दर्ता गर्न आनाकानी गर्दै चार दिनसम्म झुलाएपछि पत्रकार सम्मेलन गर्ने चेतावनी दिँदा मात्रै मंगलबार साँझ करिब ६ बजे जाहेरी दर्ता भएको बैंकले जनाएको छ।
हालसम्म उपमेयरका श्रीमान सप्तकोशी–७ ओद्राहका सञ्जिवकुमार चौधरी र अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का उमाकान्त चौधरी पक्राउ परेका छन्। तर जाहेरीमा नाम उल्लेख भएका उपमेयर रिताकुमारी चौधरी, प्रभुनारायण चौधरी, छोरा सिरज चौधरी, पञ्चदेव चौधरी र रवीन्द्र स्वर्णकार अझै पक्राउ परेका छैनन्। ‘जाहेरीमा उल्लेख भएका सातै जनालाई कानुनी दायरामा नल्याएसम्म हामी चुप लागेर बस्दैनौं,’ बरालले स्पष्ट पारे।
बैंकका अनुसार सप्तकोशी इन्ट्रिग्रेटेड एग्रो फार्म प्रालिले २०७८ वैशाख २३ गते ४ करोड ५० लाख रुपैयाँ ऋण लिएको थियो। ओद्राहस्थित ३ बिघा १४ कठ्ठा र कञ्चनरूप नगरपालिका–१२ मा रहेको १६ कठ्ठा ८ धुर जग्गा धितो राखिएको थियो। २०८१ चैत २८ पछि किस्ता नतिरेपछि बैंकले धितो लिलामीको सूचना निकालेको थियो। त्यो सूचनालाई फेसवुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पनि शेयर गरेपछि सेयरधनीहरू आक्रोशित बनेका थिए।
सूचनाको म्याद पूरा हुन नपाउँदै टिकटकमार्फत जग्गा बिक्रीको विज्ञापन गरिएको भन्दैे उनिहरुले आपत्ति जनाए। प्रालिका सेयरधनी प्रभुनारायण चौधरीले ऋण चुक्ता गर्ने तयारी भइरहेका बेला कर्मचारीहरुले षडयन्त्र गर्न थालेपछि विस्फोटक अवस्था उत्पन्न भएको वताए। कर्मचारीमाथि कुटपिट हुनु गलत भएको स्वीकार गर्दै उनले बैंक कर्मचारीले कमिसनको लोभमा वातावरण बिगारेको आरोप पनि लगाए। ‘घटना जायज होइन, तर बैंकको व्यवहारले अवस्था विस्फोटक बन्यो,’ उनले भने।
उनका अनुसार कर्मचारीमाथि भएको दुर्व्यवहार र कुटपिट लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिको नेतृत्वमा भएको हो। ‘वैंकबाट अन्याय हुन थालेपछि हामी लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिको सरणमा पुगेका थियौं, घट्नाको जिम्मेवारी उसैको हो।’ चौधरीले भने। उपमेयर रिताकुमारीको फोन भने रिसिभ हुँदैन।
मेयर ढकालले भने अन्तिम समयमा मात्रै आफु त्यहाँ पुगेको र घट्नाको विषयमा पछि मात्रै थाहा पाएको दाबी गरे। ‘एक छिन आउनु पर्यो भन्दै खवर गरेपछि म पनि पुगेको थिएँ। तर मलाई घट्नाको वारेमा जानकारी दिईएको थिएन। म पुग्दा सवै कुरा भईसकेको रहेछ। त्यसपछि कर्मचारीहरु हिड्नु भयो, म पनि हिँडे।’ ढकालले भने। त्यहाँ भएको घट्ना आफुले पछि मात्रै सामाजिक सञ्जालबाट थाहा पाएको उनको दाबी छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले उपमेयर चौधरीसहित सात जनाविरुद्ध अपहरण, शरीर बन्धक, कुटपिट र लुटपाटसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको र दुई जना पक्राउ परिसकेको पुष्टि गरेका छन्। काफ्लेले भने, ‘हामी समन्वयको प्रयास गरिरहेका छौं।’

यो पनि,

