१३ वर्षीया अंशुको बलात्कारपछि हत्याः घर तोफोड र सामुहिक आक्रमण भएपछि पीडक परिवार विस्थापित

विराटनगर— मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या भएको जघन्य घटनाले एउटा बालिकाको जीवन मात्र होइन, पूरै गाउँको सामाजिक संरचना, छिमेकी–छिमेकीबीचको सम्बन्ध र पीडित–पीडक दुवै परिवारको भविष्य अन्धकार बनाएको छ।

अंशुको निर्मम हत्या भएपछि पीडित परिवार शोक र असह्य पीडामा छ भने आरोपित छिमेकीको परिवार सामूहिक आक्रोशको सिकार बनेर थातथलो छाड्न बाध्य भएको छ। बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले मंसिर १८ गते छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको थियो।

योसँगै लेटाङ–२ को वातावरण एकाएक विस्फोटक बन्यो। अंशु र पदमबहादुरको घर जोडिएकै ठाउँमा रहेको र त्यही घरका व्यक्तिले अपराध गरेको तथ्य सार्वजनिक भएपछि दुई परिवारबीचको सम्बन्ध अपराध, घृणा र डरले चिराचिरा भयो। प्रहरीले पदमबहादुरविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ। उनी अहिले प्रहरी हिरासतमा छन्।

पदमबहादुर पक्राउ परेको तीन दिनपछि (मंसिर २१ गते) प्रहरीले घटनाको विस्तृत विवरण सार्वजनिक गरेलगत्तै गाउँमा आक्रोश फैलियो। आक्रोशित भिडले सोही साँझ पदमबहादुरको घरमा आक्रमण गर्दै तोडफोड ग¥यो। वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार घरमा क्षति पुगे पनि ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले थप क्षति हुन दिएनन्।

तर, निरन्तर असुरक्षाको अनुभूति भएपछि आरोपीको परिवार गाउँमै बस्न नसक्ने अवस्थामा पुग्यो र तत्काल थातथलो छाडेर विस्थापित हुन बाध्य भयो। पदमबहादुरको पारिवारिक अवस्था आफैंमा कमजोर र जटिल छ। उनकी श्रीमती, तीन छोरी र एक छोरा छन्। दुई छोरीको विवाह भइसकेको छ भने कान्छी अविवाहित छन्। छोरा पनि जबरजस्ती करणी आशयको मुद्दामा दोषी ठहर भई कैद सजाय भोगेर कात्तिक १८ गते मात्र जेलमुक्त भएका थिए।

स्थानीयका अनुसार जेलबाट छुटेपछि पनि उनी स्थिर जीवनमा फर्कन सकेका थिएनन्। बुहारीले पहिल्यै घर छाडिसकेकी थिइन् भने पतिको निधनपछि माइली छोरी माइतीमै बस्दै आएकी थिइन्। पदमबहादुर पक्राउ परेपछि घरमा रहेका सबै सदस्य विस्थापित हुन पुगेको स्थानीय जनप्रतिनिधिहरु वताउँछन्।

वडाध्यक्ष तेजप्रसादका अनुसार पदमबहादुर वैदेशिक रोजगारीमा साउदी अरब गएर करिब नौ वर्षअघि फर्किएका थिए र त्यसयता खेतीकिसानी गरेर परिवार धान्दै आएका थिए। गाउँमा १५–१६ कट्ठा जग्गा भए पनि अपराधको आरोप लागेपछि घर, घरभित्रका सामान र जग्गा सबै छाडेर परिवार विस्थापित हुनुपरेको छ।

विस्थापित स्थानमा उनीहरू तनाव र अभाव दुवै भोगिरहेका छन्। पदमबहादुरकी माइली छोरी भन्छिन्, ‘घर तोडफोड गरियो, गाउँमा बस्नै दिइएन। कपडाबाहेक केही निकाल्न पाएनौँ। खेती छ, तर जानै दिँदैनन्। असुरक्षित भएपछि थातथलो छाड्नुप¥यो।’ अहिले पदमवहादुरकी पत्नी सुन्दरहरैंचाको खोर्सानेस्थित छोरीको घरमा बसिरहेकी छन् भने छोरा झापामा काकाको घरमा आश्रित छन्।

वडाध्यक्ष तिम्सिनाका अनुसार कानुनी रूपमा अपराधमा संलग्न व्यक्तिलाई मात्र कारबाही हुन्छ तर सामाजिक यथार्थ फरक हुन्छ। ‘कानुन एकातिर हुन्छ, समाज अर्कोतिर। पीडित र पीडकका परिवार एकै ठाउँमा बस्न सक्ने अवस्था रहेन। अर्को घटना हुन सक्ने जोखिम थियो, त्यसैले सुरक्षाका दृष्टिले आरोपीका परिवारले बाहिरै बस्नु उपयुक्त ठानियो,’ उनले भने।

आक्रोश बढेपछि परिवारलाई जोगाउनैपर्ने अवस्था आएको उनको भनाइ छ। तिम्सिनाका अनुसार ०४३ सालको बाढीपछि दुवै परिवार विस्थापित भएका थिए र रेडक्रसको समन्वयमा उपलब्ध गराइएको जग्गा किनेर त्यहीँ घर बनाएर दशकौँसम्म छिमेकी बनेर बसेका थिए। तर, विगतदेखि नै राम्रो नरहेको सम्बन्ध अन्ततः बालिकाको जघन्य हत्यासँगै पूर्ण रूपमा समाप्त भएको उनको भनाई छ।

अंशुको परिवारको अवस्था पनि अत्यन्तै दयनीय छ। उनका बुवा गाउँमा कागती बेचेर कमाएको पैसाले परिवार चलाउँदै आएका थिए। रेडक्रसको जग्गामा सानो घर बनाएर बसेका अभिभावकका लागि छोरीको हत्या असह्य पीडा बन्यो। अहिले उनीहरू किरियामा छन्। स्थानीय, संघसंस्था र कर्मचारीहरूले किरिया खर्च सहयोग गरिरहेका छन् भने आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले अनलाइन क्याम्पेनिङसमेत चलाइएको छ।

अंशुको हत्या प्रकरणको अनुसन्धान प्रहरीका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो। असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको थियो। कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र टाउको र शरीर अलग गरिएको, कुहिएको अवस्थामा शव फेला परेको थियो। पहिचान गर्नै नसकिने अवस्थामा फेला परेको शव चप्पल र कपडाका आधारमा सनाखत गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले ‘जस्टिस फर अंशु गौतम’ नामक विशेष अपरेशन चलायो। मोरङ प्रहरीका एसपी कवित कटवालका अनुसार ३ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरिएको थियो। प्रत्यक्षदर्शीको अभाव, सीमित प्रमाण र मोबाइल प्रयोग नगर्ने बालिकाका कारण अनुसन्धान कठिन बनेको थियो।

लामो अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गरी कानुनको दायरामा ल्याइयो। प्रहरीले दाबी गरेअनुसार, ‘घाँस काट्न सघाए पैसा दिन्छु’ भन्दै सुनसान जंगलतर्फ लगेर बलात्कार गरी हँसियाले घाँटी रेटेर हत्या गरिएको थियो। अपराधपछि उनी घाँसको भारी बोकेर घर फर्किए र अंशुको खोजीमा सहभागी हुँदै आफूलाई जोगाउने प्रयास गरे। अन्ततः भागेर भारतको आसाम पुगेका उनलाई स्थानीय प्रहरीको समन्वयमा पक्राउ गरी नेपाल ल्याईएको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट