बम विस्फोट काण्डमा पक्राउ परेपछि हर्क साम्पाङको पार्टीका उपाध्यक्ष देवराज लामा निलम्बित

धरान— विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार तामाङ उर्फ देवराज लामालाई पार्टीले पदबाट निलम्बन गरेको छ। अनुसन्धान प्रक्रियामा कुनै किसिमको दबाब वा प्रभाव नपरोस् भन्ने उद्देश्यले अनुसन्धानको टुंगो नलागेसम्मका लागि उपाध्यक्ष पदबाट निलम्बन गरिएको पार्टी अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई मंगलबार काठमाडौंको कपनबाट पक्राउ गरेको थियो। उनीविरुद्ध २०८१ भदौ १४ गते पाँचथरमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा मुद्दा दायर गरिएको छ। उक्त विस्फोटमा एक बालिकाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

लामाको पक्राउपछि बुधबार श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राज्यको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धतासहित उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेका हुन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै अनुसन्धान निष्पक्ष रूपमा अघि बढ्नुपर्ने बताए।

‘म गलतलाई गलत र सहीलाई सही भन्ने मान्छे हुँ,’ साम्पाङले भने, ‘राज्यले गर्ने अनुसन्धानमा हाम्रो तर्फबाट कुनै पनि किसिमको दबाब वा प्रभाव पर्दैन। यदि उहाँ दोषी ठहर हुनुभयो भने कानुन बमोजिम कारबाही हुनुपर्छ। तर निर्दोष साबित हुनुभयो भने दुःख दिन पाइँदैन।’

उनले श्रम संस्कृति पार्टी अन्य दलभन्दा फरक अभ्यासमा रहेको दाबी गर्दै भने, ‘यो श्रम संस्कृति पार्टी हो। अरूजस्तो घोटाला र काण्डमा मुछिएर पनि पदमै टाँसिरहने चलन यहाँ छैन। आजकै मितिदेखि उहाँ निलम्बन हुनुहुन्छ। दोषी ठहर भए पदबाट मुक्त हुनुहुन्छ, निर्दोष भएर आउनुभयो भने पुनः स्वागत गरिनेछ।’ यसबारे पार्टीले आधिकारिक प्रेस विज्ञप्ति पनि जारी गरेको छ।

कुमार विश्वक्रान्ति नामले समेत चिनिने देवराज लामा यसअघि पनि गम्भीर बम विस्फोट घटनामा संलग्न रहेको अभियोग खेप्दै आएका व्यक्ति हुन्। उनी विश्व संयुक्त जातीय मुक्ति मोर्चा नामक संगठनमा आबद्ध रहेका बेला काठमाडौंसहित देशका विभिन्न स्थानमा बम विस्फोट गराएको आरोप लाग्दै आएको छ।

१५ फागुन २०६८ मा काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु र सात जना घाइते भएका थिए। उक्त घटनामा संलग्न अभियोगमा पक्राउ परेका लामा केन्द्रीय कारागारमा थुनामा रहेका बेला २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीपछि रिहा भएका थिए।

त्यसैगरी पाँचथरमा भएको अर्को बम विस्फोट घटनामा पनि उनी मुछिएका छन्, जहाँ एक जनाको ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरमा विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनी लामो समयदेखि फरार रहेको पाइएको र सोही घटनाका आधारमा हाल पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीआईबीका अनुसार लामालाई काठमाडौंको कपनबाट पक्राउ गरी मंगलबार नै थप अनुसन्धानका लागि पाँचथर पठाइसकिएको छ। प्रहरीले उनीमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट