आलोचकलाई थप चिढ्याउँदै एमाले महाधिवेशनमा ओलीसँग ज्योति मगरको फोटोसुट

काठमाडौं — नेकपा एमालेको ११औँ महाधिवेशनमा चौथो दिनपछि सुरु भएको मतदानसँगै बन्दसत्र स्थल भृकुटीमण्डपमा राजनीतिक गतिविधि तिव्र छन्। एकातर्फ प्रतिनिधिहरू मतदानमा व्यस्त छन् भने अर्कोतर्फ उम्मेदवारहरू र उनीहरूका समर्थकहरू खुलेर प्रचार–प्रसारमै लागिरहेका छन्।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल महाधिवेशन स्थलमा सँगसँगै हिँड्दै मतदातासँग भेटघाट र मत मागिरहेको दृश्य देखिएको छ। दुवै नेताका पक्षमा मत माग्ने नेता तथा कार्यकर्ताहरू पनि सक्रिय छन्, जसले महाधिवेशनलाई अझै रोचक बनाएको छ।

यही राजनीतिक माहोलका बीच चर्चित गायिका ज्योति मगर पनि महाधिवेशन स्थलमा देखिएकी छन्। मंगलबारदेखि नै भृकुटीमण्डपमा सक्रिय रहेकी मगरले विभिन्न उम्मेदवारका पक्षमा मत माग्दै नेताहरू तथा प्रतिनिधिहरूसँग भेटघाट गरिरहेकी छन्।

बुधबार भने ज्योति मगर अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीसँगै फोटोसुटमा देखिइन्। सार्वजनिक तस्बिरमा ओली र मगर दुवै मुस्कुराउँदै देखिएका छन्, जसलाई सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत राजनीतिक धारणा सार्वजनिक गर्न थालेकी ज्योति मगर महाधिवेशन सुरु भएसँगै नेकपा एमालेको पक्षमा खुलेरै उभिएकी देखिन्छिन्।

कलाकारको यस्तो सक्रिय उपस्थितिले महाधिवेशनमा थप ध्यान तानेको छ भने सामाजिक सञ्जालमा पनि राजनीतिक र सांस्कृतिक बहसलाई चर्काएको छ। मतदान प्रक्रिया जारी रहँदा प्रचार गतिविधि पनि समानान्तर रूपमा चलिरहेकाले महाधिवेशनको अन्तिम नतिजा कसको पक्षमा जाने भन्ने विषयलाई लिएर उत्सुकता झन् बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट