सिरहामा अवैध क्रसर उद्योगलाई गैरकानुनी बिजुलीः राज्य संयन्त्रको लापरबाही की मिलेमतो ?

लहान— क्रसर उद्योगको अनुमति, दर्ता तथा नियमनसम्बन्धी मापदण्ड–२०८० ले क्रसर सञ्चालनका लागि स्पष्ट र कडा सीमा तोकेको छ। राजमार्गदेखि कम्तीमा ५ मिटर, नदी–खोला र पक्की पुलदेखि ५ मिटर, तथा घना मानव बस्तीबाट २ किलोमिटर टाढा क्रसर हुनुपर्ने कानुनी प्रावधान छ।

तर यो मापदण्डलाई खुला रूपमा चुनौती दिँदै सिरहाको धनगढीमाई नगरपालिका–७ मा पूर्व–पश्चिम राजमार्गमै, गागन नदीको पुलछेउ एक दशकभन्दा बढी समयदेखि ‘सन्नी क्रसर उद्योग’ अवैध र निर्वाध रूपमा सञ्चालन भइरहेको छ।

क्रसर रहेको स्थान चारैतिर घना बस्तीले घेरिएको छ। राजमार्गसँगै जोडिएको, पुलको ठीक छेउ र बस्तीबीच क्रसर चलिरहँदा कानुनको ठाडो उल्लङ्घन मात्र होइन, स्थानीयको जीवन प्रत्यक्ष प्रभावित भइरहेको छ। कानुनअनुसार यस्तो स्थानमा क्रसरलाई विद्युत् जडानसमेत दिन मिल्दैन। तर, उद्योगमा विद्युत प्राधिकरणकै अनुमतिमा विद्युत जडान भएको पाईएको छ। जसले अवैधताको अर्को नाङ्गो रुप देखाएको छ।

सन्नी क्रसरले आफ्नै नाममा बिजुली लिन नमिल्ने भएपछि धनगढीमाई नगरपालिका–९ मा दर्ता रहेको ‘चुलाचुली गिट्टी बालुवा प्रशोधन उद्योग’ को नाममा लिइएको विद्युत् मिटर प्रयोग गरेर गैरकानुनी रूपमा वडा नम्बर ७ मा रहेको सन्नी क्रसरमा राखेको पाइएको छ। नियमअनुसार एउटा उद्योगको विद्युत् अर्को स्थान वा उद्योगमा प्रयोग गर्न पाइँदैन। तर यहाँ नाम फरक, ठाउँ फरक, उद्योग फरक—बिजुली एउटै छ।

यति मात्र होइन, मापदण्डभित्र पर्ने ठूला क्षमताका उद्योगका लागि मात्र उपलब्ध गराइने २५० केभीएको ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणले यो अवैध क्रसरलाई जडान गरिदिएको छ। मापदण्ड नपुगेको उद्योगलाई यस्तो सुविधा उपलब्ध गराइनुले सरकारी निकायको लापरबाही होइन, मिलेमतो र संरक्षणको आशंका पैदा गरेको छ।

घरेलु तथा साना उद्योग कार्यालय, लहानको अभिलेखअनुसार सन्नी क्रसर उद्योग सिरहा माडरका जयप्रकाश कारकको नाममा र चुलाचुली गिट्टी बालुवा प्रशोधन उद्योग हेटौंडाका सीताराम न्यौपानेको नाममा दर्ता छन्। तर वास्तविकतामा यी दुवै उद्योग पछिल्लो तीन वर्षदेखि धनुषाका निरज गौतमले खरिद गरी सञ्चालन गरिरहेका छन्।

गौतम भने आफूलाई क्रसर अवैध रहेको र यसरी बिजुली प्रयोग गर्न नपाइने कुरा थाहा नभएको दाबी गर्छन्। ‘मलाई यस्ता कानुनी प्रक्रिया थाहा भएन। पहिलेदेखि जसरी चल्दै आएको थियो, त्यसैलाई निरन्तरता दिइयो। गलत हो भने बन्द गरिदिन्छु।’– उनले भने।

स्थानीयका लागि यो विषय कागजी कानुनको बहस होइन, दैनिक जीवनको संकट बनेको छ। क्रसरबाट चौबीसै घण्टा आउने चर्को आवाज, धुलो र कम्पनले आसपासका बासिन्दा आक्रान्त छन्। बालबालिका, वृद्ध र बिरामी सबै प्रभावित छन्।

स्थानीय हरेराम यादवले वडा कार्यालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयमा गत कात्तिक २३ गते विस्तृत लिखित उजुरी दिएका थिए। ‘नागरिक भएपछि समस्या लिएर राज्यकहाँ जानु स्वाभाविक हो। तर उजुरी दिएपछि समाधान भएन, उल्टै मान्छे लगाएर तर्साउने प्रयास भयो।’– यादवले गुनासो गर।

सर्वसाधारण मात्र होइन, स्थानीय जनप्रतिनिधिले समेत औपचारिक रूपमा नियामक निकायलाई ध्यानाकर्षण गराएका छन्। वडा नम्बर ७ का वडाध्यक्ष विजयकुमार महतोले गुनासोको आधारमा जिल्ला समन्वय समिति, सिरहालाई कारबाहीका लागि पत्र पठाएका थिए। महतो भन्छन्–‘मौखिक र लिखित दुवै प्रकारका धेरै गुनासा आए। त्यसपछि पत्र पठाएँ, तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।’

स्थानीयले धर्ना दिने चेतावनी दिएपछि मात्र नेपाल विद्युत् प्राधिकरण, लहानको टोली बिहीबार क्रसरमा पुगेको थियो। तर सीडीओको निर्देशनपछि टोली बिजुली नकाटी फर्किएको कार्यालय प्रमुख अवधेश कुमार गुप्ताले वताए। ‘‘हामीले केही समय विद्युत् काटेका थियौँ। तर प्रजिअबाट अहिले नकाट्नु भन्ने आदेश आएपछि पुनः जोड्यौँ।’– गुप्ताले भने।

सीडीओ सुरेन्द्र पौडेलले भने उजुरीकै भरमा कारबाही नहुने भन्दै संयमित प्रतिक्रिया दिए। ‘सबै कुरा बुझेर मात्र निर्णय हुन्छ। त्यसपछि सम्बन्धित निकायले आवश्यक कदम चाल्छ।’ यता, एक दशकदेखि अवैद्य क्रसर निर्वाध चलिरहनुले कानुनभन्दा माथि क्रसर र क्रसरभन्दा तल राज्य संयन्त्र देखिएको आरोप बलियो बन्दै गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट