श्रीमती जापान पठाउन लिएको ११ लाख ऋण नतिर्न २ दिनभित्र जेठानसहित २ जनाको हत्या

काठमाडौँ– श्रीमतीलाई जापान पठाउन लिएको ११ लाख रुपैयाँ ऋण फिर्ता गर्नुपर्ने दबाबबाट उम्किन ललितपुरमा एक युवकले योजनाबद्ध रूपमा आफ्नै जेठानसहित दुई जनाको हत्या गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ।

ऋण, लोभ र छलकपटले जोडिएको यो घटनामा दुई दिनभित्रै दुई युवकलाई मदिराले लठ्याएर ह्याम्मर प्रहार गरी हत्या गरिएको र शव छुट्टाछुट्टै स्थानमा बोराभित्र प्याक गरेर फ्याँकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटना ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्रबाट भएको हो। पुस २ गते ललितपुरको लुभुस्थित तरकारी फार्ममा रहेको इनारभित्र एक युवकको शव बोरामा प्याक गरेर फ्याँकिएको अवस्थामा भेटिएपछि अनुशन्धान सुरु भएको थियो। शव सनाखत गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २५ वर्षीय केशवराज हायु रहेको पुष्टि भयो।

इनारभित्र शव भेटिएसँगै सुरु भएको अनुसन्धानले केही दिनमै अर्को रहस्यमय हत्याको पनि पर्दाफास गरेको छ। इनारमा शव भेटिएको छैठौं दिन, सोमबार बिहान ललितपुरको लाकुरी भञ्ज्याङस्थित गणेशमान पार्क नजिकैको जंगलमा अर्को युवकको शव फेला परेको प्रहरीले जनाएको छ।

बोराभित्र प्याक गरिएको अवस्थामा भेटिएको उक्त शव भोजपुर घर भएका २१ वर्षीय पारुहाङ राईको भएको खुलेपछि प्रहरीले यी दुई घटना आपसमा जोडिएको निष्कर्ष निकालेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले अनुसन्धान तीव्र बनाएपछि घटनाको जरो ऋण र पारिवारिक सम्बन्धसँग गाँसिएको खुलेको हो।

पक्राउ परेका सिन्धुली गोलञ्जोर गाउँपालिका घर भएका देवराज ढुंगेल र उनका साथी जयराम अधिकारीमाथि अनुसन्धान गर्दा मुख्य योजनाकार देवराज रहेको पुष्टि भएको छ। मृतक केशवराज हायु देवराजका जेठान हुन।

प्रहरीका अनुसार देवराजले करिब चार महिनाअघि आफ्नी श्रीमतीलाई जापान पठाएका थिए। त्यसका लागि उनले विभिन्न व्यक्तिसँग ऋण लिएका थिए। ऋण तिर्न नसकेपछि उनले आफ्नै जेठान केशवराजसँग ६ लाख तथा जेठानको कृषि फार्मका साझेदार पारुहाङ राईसँग ५ लाख रुपैयाँ ऋण लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

दुवैले रकम फिर्ता माग्न थालेपछि देवराज दबाबमा परेका थिए। ऋण फिर्ता माग्ने क्रम बढ्दै गएपछि देवराजले ऋण नै तिर्नु नपर्ने गरी ऋणदाता सिद्याउने आपराधिक योजना बनाएको प्रहरीको निष्कर्ष छ। योजनालाई कार्यान्वयन गर्न उनले आफ्ना बाल्यकालका साथी जयराम अधिकारीलाई सिन्धुलीबाट काठमाडौं बोलाएका थिए।

जयराम आफैं पनि करिब २ लाख रुपैयाँ ऋणमा डुबेको र सो रकम तिरिदिने आश्वासन दिएपछि देवराजको योजनामा सामेल भएको प्रहरीले जनाएको छ। मंसिर २४ गते पहिलो हत्या गरिएको थियो। देवराजले आफ्ना जेठान केशवराजलाई ‘रमाइलो गर्न र रक्सी खान जाने’ बहानामा ललितपुरको ज्यामिरकोट जंगलमा लगेका थिए।

साँझको समयमा मदिरा सेवन गराएपछि केशवराज लठ्ठ भए। त्यसपछि उनको मुखमा टेप बाँधेर ह्याम्मरले टाउकोमा प्रहार गरी हत्या गरिएको अनुसन्धानमा खुलेको छ। हत्या पछि शव बोरामा हालेर जंगलमै छाडिएको थियो।

पहिलो हत्या सफल भएपछि देवराज झन् ढुक्क भए। तर पारुहाङसँग लिएको ५ लाख रुपैयाँ ऋण अझै बाँकी रहेकाले भोलिपल्ट (२५ मंसिरमा) दोस्रो हत्या गर्ने निर्णय गरियो। पारुहाङलाई पनि डाँडातिर रमाइलो गर्ने बहानामा लाकुरी भञ्ज्याङ र भक्तपुरको सीमामा पर्ने सूर्यविनायक नगरपालिका–७ को जंगलमा लगियो।

केशवराजको हत्याबारे कुनै जानकारी नपाएका पारुहाङ पनि योजनामा फसे। मदिराले लठ्ठ भएपछि उनको पनि ह्याम्मरले प्रहार गरी हत्या गरियो र शव बोरामा प्याक गरेर जंगलको भिरतिर फ्याँकियो। केही दिनपछि केशवराज सम्पर्कविहीन भएको चर्चा चलेपछि देवराज र जयराम झस्किए।

ज्यामिरकोट जंगलमा शव फेला पर्न सक्ने डरले उनीहरूले दुई दिनपछि मोटरसाइकलमा शव बोकेर ल्याई केशवराजले पहिले सञ्चालन गरेको तरकारी फार्मको इनारभित्र फ्याँकेको अनुसन्धानबाट खुलेको छ। उक्त मोटरसाइकल मृतक केशवराजले नै दुई दिनका लागि भाडामा लिएको पाइएको छ।

पुस २ गते इनारभित्र शव भेटिएपछि अनुसन्धानले गति लियो। घटनास्थल नजिकै फेला परेको एक जोर चप्पल, टहरो भत्काउँदै गरेको भिडियो र त्यसमा देखिएको चप्पल, साथै देवराजले हत्या पछि डेरा सरेर भक्तपुरको गठ्ठाघर जानुजस्ता तथ्यहरूले प्रहरीको शंका देवराजतर्फ केन्द्रित भयो। उनको कोठामा छापा मार्दा रगत लतपतिएका कपडा, भाँचिएको ह्याम्मर र शव बाँध्न प्रयोग गरिएको टेप बरामद भएपछि अपराध पुष्टि हुने बलियो आधार भेटियो।

यद्यपि देवराजले सुरुवातमा सबै आरोप अस्वीकार गरे। तर प्राविधिक अनुसन्धानबाट घटनास्थलमा अर्को व्यक्ति पनि संलग्न रहेको देखिएपछि जयराम अधिकारी पक्राउ परे। प्रारम्भिक सोधपुछमै जयरामले केशवराजको हत्या स्वीकार मात्रै गरेनन्, अर्का युवक पारुहाङको पनि हत्या भएको खुलासा गरे। उनको बयानकै आधारमा प्रहरीले लाकुरी भञ्ज्याङको जंगलबाट पारुहाङको शव बरामद ग¥यो।

प्रहरीका अनुसार देवराजले जयरामलाई दुई लाख रुपैयाँ दिने सम्झौता गरेका थिए। तर हत्या पछि उनलाई जम्मा १० हजार रुपैयाँ मात्रै दिएर गाउँ फर्काइएको जयरामले स्वीकार गरेका छन्। ‘ऋण तिर्न नपर्ने लोभ, पैसाको लालच र विश्वासघातले दुई दिनमा दुई जनाको ज्यान लिइयो,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्।

हाल दुवै अभियुक्तमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ। श्रीमतीलाई विदेश पठाउने सपना, ऋणको दबाब र अपराधको बाटो रोज्दा दुई निर्दोष युवाको ज्यान गएको यो घटनाले समाजलाई स्तब्ध बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट