एमाले नेता ऐन महरकी श्रीमती पक्राउ, महर १ लाख धरौटीमा रिहा
काठमाडौँ— विद्युतीय कारोबार ऐनअन्तर्गत चरित्रहत्या अभियोगमा नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् भने सोही अभियोगमा उनकी श्रीमती अनुजा (सनुजा) श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
एउटै मुद्दामा पति धरौटीमा छुट्दा पत्नी पक्राउ पर्नु घटनाको सबैभन्दा पेचिलो र संवेदनशील पक्ष बनेको छ। महिलाको चरित्रहत्या गरेको आरोपमा महरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार साइबर ब्युरोमा उजुरी परेको थियो।
बझाङकी रश्मिला बमले सामाजिक सञ्जालमार्फत गाली–बेइज्जती र चरित्रहत्या गरिएको भन्दै हुलाकमार्फत जाहेरी दिएपछि साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो। सोही आधारमा गत भदौमा महर पक्राउ परे पनि उनी त्यसबेला हाजिरी जमानीमा छुटेका थिए।
पछि मुद्दाको अनुसन्धान र प्रक्रियाका क्रममा काठमाडौं जिल्ला अदालतले गत मंसिर २१ गते साइबर ब्युरोलाई महरलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो। सोही आदेशअनुसार बुधबार महर भोटाहिटीस्थित साइबर ब्युरोमा उपस्थित भएका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएर म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो।
थुनछेक बहसपछि न्यायाधीश उमानाथ गौतमको एकल इजलासले ऐन महरलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार महरले धरौटी रकम बुझाएपछि अदालतबाट रिहा भएका हुन्। उनी अदालतमा बयान दिन उपस्थित भएकै क्रममा धरौटी बुझाएर छुटेका थिए।
तर, यही मुद्दाले अर्को मोड लिएको छ। महर धरौटीमा रिहा हुँदा उनकी श्रीमती अनुजा श्रेष्ठ भने पक्राउ परिन्। साइबर ब्युरोबाट खटिएको टोलीले उनलाई प्रहरी वृत्त सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको हो। अनुजा श्रेष्ठ अस्कल क्याम्पसकी उपप्राध्यापक तथा एमाले निकट नेतृ हुन्। उनीविरुद्ध पनि सोही जाहेरी र सोही कसुरअन्तर्गत संलग्नता देखिएको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीका अनुसार अदालतमा दर्ता भएको उक्त मुद्दामा सोमबार पेशी तोकिएको थियो। थुनछेक बहसका क्रममा ऐन महरको हकमा धरौटी आदेश भए पनि अनुजा श्रेष्ठको सम्बन्धमा बहस नसकिएकाले अदालतको प्रक्रिया पूरा गर्न उनलाई नियन्त्रणमा लिइएको हो। अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको अवस्थामा उनी फरार रहेको ठहर भएपछि प्रहरीले उनलाई पक्राउ गरेको ब्युरोको भनाइ छ।
राजनीतिक पृष्ठभूमिमा हेर्दा ऐन महर एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्म पुगेका नेता हुन्। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका थिए तर नेकपा (एकीकृत समाजवादी) का नेता भानुभक्त जोशीसँग पराजित भएका थिए।

