पति विदेशमा भएकी वुहारीलाई पेट्रोल छर्केर आगो लगाई हत्या गर्ने सासु र नन्द पक्राउ

राजविराज– सिन्धुलीमा पेट्रोल छर्केर आगो लगाइ एक महिलाको हत्या गरिएको छ। को कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जन (घिसिङ)को हत्या गरिएको हो।

हत्या आरोपमा प्रहरीले मृतककै सासु ५९ वर्षीया मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना बम्जनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब साढे ४ बजे सुशीलामाथि आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाइएको थियो।

गम्भीर रूपमा जलेकी सुशीलाको प्रहरी पुग्दासम्म मृत्यु भइसकेको थियो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। घटनामा मृतकका ससुरा ६५ वर्षीय दुर्गामान बम्जन पनि घाइते भएका छन्।

उनले आगो निभाउने क्रममा आफू घाइते भएको बताएका छन्। तर माइती पक्षले ससुरा दुर्गामानसमेत संलग्न रहेको आशंकामा किटानी जाहेरी दिएका छन्। घाइते दुर्गामानलाई थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार घटनास्थलबाट पेट्रोलसमेत बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा मृतक र परिवारबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको खुलेको छ। मृतकका श्रीमान भने विगत दुई वर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा छन्।

प्रहरीले सासु मायारानी र नन्द मीनालाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरेर थुनामा राखी थप अनुसन्धान गरिरहेको छ। ससुरा दुर्गामानको भूमिकाबारे पनि तथ्य संकलन र बयानका आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि स्थानीयवासी र मृतकका आफन्तले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुली घेराउ गरेका छन्। नाराबाजी र प्रदर्शन बढेपछि प्रहरीले कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट