भावी प्रधानमन्त्रीमा बालेनसँग कुरा नमिलेपछि सातबुँदे सहमतिमा छुटे कुलमानः भारतीय मिडियामा ब्यापक चर्चा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच भएको सातबुँदे सहमतिले अहिले भारतीय मिडियामा चर्चा पाएको छ।

भारतीय अखबार नवभारत टाइम्सले बालेनको प्रवेशसँगै रास्वपाले सहरी युवा र पहिलो पटक मतदाता बन्ने युवाको ठूलो समर्थन पाउने दाबी गरेको छ। समाचारमा बालेनले विगतमा सीमा विवाद र भारतीय हस्तक्षेपबारे कडा अभिव्यक्ति दिएको उल्लेख गर्दै, उनी चीन पक्षधर नभएको टिप्पणी पनि गरिएको छ।

बीबीसी हिन्दीले बालेनलाई ‘युवा पुस्ताको प्रतिनिधि’ भन्दै उनको लोकप्रियताले नेपालमा वैकल्पिक राजनीतिलाई बलियो बनाउने विश्लेषण गरेको छ। अन्य भारतीय मिडियाले पनि यो विषयमालाई चासोका साथ समाचार बनाएका छन्।

ति मिडियाले बालेनलाई ‘नेपालका भावी प्रधानमन्त्री’ का रूपमा चित्रण गरेका छन्। भारतीय मिडियाले बालेनलाई युवामाझ लोकप्रिय, गैर–पारम्परिक र स्थापित दलविरुद्धको राजनीतिक अनुहारका रूपमा व्याख्या गरेका छन्।

रास्वपा र वालेनको सहमतिले नेपाली राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। आइतबार बिहान करिब ४ बजे हस्ताक्षर भएको यो सहमतिले बालेन साहलाई आगामी प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने औपचारिक बाटो खोलेको छ।

सार्वजनिक गरिएको सातबुँदे सहमतिअनुसार बृहत् एकतापछि दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झण्डा, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय पनि यथावत् रहनेछ। पार्टी सभापति रवि लामिछाने नै रहनेछन् भने आगामी प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बालेन साह हुने स्पष्ट उल्लेख गरिएको छ।

सहमतिमा जेन–जी आन्दोलनलगायत विभिन्न आन्दोलनका शहीद तथा घाइतेप्रति सम्मान, भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, संस्थागत र संरचनात्मक सुधारमार्फत आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने प्रतिबद्धता पनि समेटिएको छ।

किन छुटे कुलमान ?
रवि–बालेन सहमतिसँगै अर्को महत्वपूर्ण प्रश्न उठेको छ— ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ किन यो सहमतिमा अटाएनन्? स्रोतका अनुसार शनिबार रातिसम्म बालेन, रवि र कुलमानबीच निरन्तर संवाद भइरहेको थियो।

बालेन र कुलमानबीच शनिबार साँझ भेटसमेत भएको थियो। तर निर्णायक वार्तामा कुलमान सहभागी भएनन्। मुख्य विवाद प्रधानमन्त्रीको आकांक्षालाई लिएर देखिएको स्रोतको दाबी छ। कुलमान पनि आफू प्रधानमन्त्रीको उम्मेदवार हुनुपर्ने अडानमा थिए। बालेनले भने आफू नै पाँच वर्ष प्रधानमन्त्री बन्नुपर्ने एकसूत्रीय माग राखेपछि सहमति टुटेको बताइएको छ।

रास्वपाले कुलमानलाई उपसभापतिको प्रस्ताव गरेको भए पनि उनले पार्टी–पार्टीबीच सहअस्तित्व र एकता खोजेका थिए। पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्वमा स्पष्ट सहमति नआएकाले कुलमान पछि हटेको उनी निकट स्रोतको भनाइ छ।

रवि–बालेन सहमतिले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। तर कुलमान जस्तो प्रभावशाली अनुहार बाहिरिनुले यो एकता पूर्ण नभएको संकेत पनि दिएको छ। सहमतिपछि रास्वपाले अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिलाई ‘घण्टी’ चिन्हमा गोलबद्ध हुन आह्वान गरेको छ।

अब यो सहमति आगामी चुनावमा कति प्रभावकारी हुन्छ भन्ने कुरा समयले नै बताउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट