सुरक्षित छैनन गाउँघरः वृद्ध दम्पतीको घरभित्रै विभत्स हत्या, पक्राउ परेनन हत्यारा
ओखलढुंगा — ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा एक वृद्ध दम्पतीको घरभित्रै निर्मम हत्या भएको छ। मंगलबार राति ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पुष्टि गरेको छ।
बिहान अबेरसम्म दम्पती नदेखिएपछि छिमेकीहरूले खोजतलास सुरु गरेका थिए। बाहिरबाट पटक–पटक बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि छिमेकी घरभित्र पस्दा दुवै जना रगताम्य अवस्थामा मृत भेटिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट इन्स्पेक्टर विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। प्रारम्भिक अनुसन्धान अनुसार दम्पतीमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।
घटनाको गहिरो अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय धरानस्थित केनाइन शाखाबाट तालिमप्राप्त कुकुर समेत झिकाइएको छ। इन्सपेक्टर भट्टराईका अनुसार कुकुर मंगलबार राति नै घटनास्थल पुगेको थियो र राति पनि केही अनुसन्धान गरिएको थियो। बुधबार बिहानदेखि थप विस्तृत अनुसन्धान सुरु भइसकेको छ।
‘तालिमप्राप्त कुकुरबाट अनुसन्धान नगरी शव उठाइदैन’ इन्सपेक्टर भट्टराईले भने। उनका अनुसार दम्पती मात्र उक्त घरमा बस्दै आएका थिए। उनीहरूका छोराछोरी बाहिर छन्। हालसम्म शव घटनास्थलमै राखिएको छ।
हत्या कसले र किन ग¥यो भन्ने विषय खुल्न सकेको छैन। प्रहरीले सबै सम्भावित कोणबाट अनुसन्धान भइरहेको जनाएको छ। केही शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राखिएको भए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको प्रहरीले स्पष्ट पारेको छ।
केही महिनाअघि ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ चार्खुमा ५२ वर्षीया रत्नकुमारी कटवाल कार्कीको घरभित्रै हत्या भएको थियो। उक्त घटनामा पनि तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान गरिएको भए पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेका छैन।
लगातार भइरहेका यस्ता जघन्य अपराधका घटनाले ओखलढुंगामा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने स्थानीयवासीहरू भयभीत बनेका छन्।

